• फाल्गुन ३० २०८२, शनिबार

माओवादीले नसुनेपछि कांग्रेसका ‘विद्रोही’ केदार कार्कीलाई साथ दियौं : हिक्मत कार्की

कार्तिक १ २०८०, बुधबार

काठमाडाैं ।  नेकपा एमाले कोशी प्रदेश संसदीय दल नेता हिक्मत कार्कीले नेकपा माओवादी केन्द्रले कुरा नसुनेपछि मुख्यमन्त्री बनाउन नेपाली कांग्रेसका ‘विद्रोही’ सांसदहरूलाई साथ दिइएको बताएका छन्।

बुधबार मुख्यमन्त्री केदार कार्कीले प्रदेश सभामा विश्वासको मतको प्रस्ताव पेश गरेका छन्। प्रदेश सभामा बोल्दै एमाले संसदीय दल नेता कार्कीले नयाँ निकास निकाल्ने क्रममा: कांग्रेसका कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गरिएको बताए।

‘कांग्रेस संस्थापन पक्षले हामीसँग सहकार्य गर्न चाहेन। माओवादीले पनि हाम्रा कुरा सुनेन। त्यसैले कांग्रेसका विद्रोहीलाई साथ दिएका हौं,’ उनले भने, ‘गठबन्धनले संघीयतामाथि प्रहार गर्दै माथिबाट अमुक व्यक्तिलाई मुख्यमन्त्री तोकेपछि हामी विक्षप्त भयौं। त्यसैले कांग्रेसका कार्कीलाई समर्थन गरिएको हो।’

कांग्रेसका ८ र एमालेका ३९ सांसदको समर्थनमा केदार कार्की मुख्यमन्त्री बनेका थिए। ‘केही साथीहरूले यहाँ कुण्ठा पोख्नुभएको छ। यो जरूरी पनि छैन। यो परिस्थिति कसले बनायो?,’ उनले प्रश्न गरे, ‘एमालेले गलत गरेको छैन।’

उनले कोशीमा विगत १० महिनादेखि सरकार बनाउने काम मात्रै भइरहेको बताए। ‘अब त्यस्तो स्थिति आउँदैन,’ उनले भने, ‘मध्यावधिमा जाने जनताको चाहना छैन। यो कुरा चुनावमा जान डराएर हामीले भनेको होइन,’ उनले भने।