• मंसिर ११ २०८१, मंगलवार

द्वन्द्धग्रस्त देश इजरायलबाट नेपालीलाई छिटो घर फर्काउ

आश्विन २२ २०८०, सोमबार

मध्यपूर्वी देश इजरेलमा १० जना नेपालीको आक्रमणमा परी निधन भएपछि यतिबेला सम्पूर्ण देश शोकमग्न छ । इजरेलमा मृत्यु भएका नेपालीको शोकमा राष्ट्रिय शोक घोषणा गरी देशभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय ग¥यो ।

प्यालेस्टिनी विद्रोही समूह हमासले गत शनिबार इजरायलको दक्षिणी भूभागमा गरेको आक्रमणमा परी १० नेपालीको मृत्यु भएको थियो । कृषि फर्ममा कुल १७ जना नेपाली रहेकामा १० जनाको निधन भएको तथा चार जना घाइते भएका थिए । फसेका नेपालीलाई उद्धार गर्न सरकारले गरेको पहलस्वरूप अहिले ३१ नेपालीलाई हमास नियन्त्रित क्षेत्रबाट तेल अभिभ सारिएको छ । मृतक १० जना ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत नेपालबाट इजरेल गएका थिए । उनीहरू दक्षिणी इजरेलको गाजानजिकै रहेको सेडाट नेगेभ एग्रिकल्चर सेन्टर अन्तर्गत किबुज अलुमिम फर्ममा प्रशिक्षण लिइरहेका थिए । अहिले इजरेलमा ४,५०० नेपालीहरू केअरगिभरको रूपमा कार्यरत छन् । त्यस्तै २६५ जना विद्यार्थीहरू ‘लर्न एन्ड अर्न’ योजना अन्तर्गत काम गर्दै सिक्नका लागि कृषि क्षेत्रमा गएको सरकारी तथ्याङ्क छ ।

इजरेलमा रहेका नेपालीहरू केही मात्रामा सरकारी विवरणमा नसमेटिएका र गैरकानुनी रूपमा इजरेलमा कार्यरत नेपालीहरू छन् तर तिनको यथार्थ विवरण र तथ्याङ्क अहिले छैन । सरकारले इजरेलमा रहेका र तत्काल नेपाल फर्कन चाहने नेपालीहरुको लागि उद्दार गर्ने तयारी गरेको छ । अनलाईनमार्फत् स्वदेश फर्कन चाहने नेपालीहरुलाई अनलाईनमा फर्म भरेर जानकारी दिन समेत सरकारले आग्रह गरेको छ ।

इजरेल नेपालीहरुको रोजगारीका लागि एउटा महत्वपूर्ण गन्तव्य मुलुक मध्येको एक मानिदैं आएको छ । विशेषत केयर गिभरका साथै कृषि क्षेत्रमा पनि रोजगारको अवसर प्राप्त हुँदै आएको छ । दुर्भाग्यवश कृषिसम्बन्धी सीप सिक्न ‘लर्न एण्ड अर्न’ कार्यक्रम अन्तर्गत इजरेलको कृषि फार्म पुगेका नेपाली विद्यार्थीहरू बिचल्लीमा परेका छन् । त्यसबाहेक पाँच हजारभन्दा बढी महिला ‘केयर गिभर’ को रूपमा इजरेलमा छन् । कुन मुलुकमा कति बेला के कस्ता आपत आइलाग्छ भन्न सकिने स्थिति छैन । तर, नेपालीहरू युद्धग्रस्त मुलुकहरुमा सदाझै जोखिममा परिरहेका हुन्छन् । वैदेशिक रोजगारीमा जानु नेपालीहरुको आवश्यकता र नियति बनिसकेको छ । देशमा रोजगारीको अवसरहरु छैनन् । त्यसैले वैदेशिक रोजगारीमा जानु एउटा बाध्यता पनि हो । तर सबै देशहरु सुरक्षित र सहज भएका छैनन् । अझै विश्वमा कतिपय देशहरुसँग नेपालको कुटनीतिक सम्बन्ध पनि स्थापित नभएका क्षेत्रमा नेपालहरु पुगिरहेका छन् । तर तिनको अवस्थाको बारेमा नेपाल सरकारसँग पनि पर्याप्त जानकारी छैनन् ।

केही वर्षअघि इराकमा वैदेशिक रोजगारीका लागि सरकारले प्रतिबन्ध लगाएको अवस्थामा पुगेका १० नेपालीको विभत्स हत्या भएको थियो । त्यस विभत्स घटनाबाट हामीले गतिलो पाठ सिक्न सकेनौं । जति मुलुकमा अहिले श्रम सम्झौता भएर नेपालीहरु काम गर्न गएका छन् ती देशहरुमा कार्यरत नेपाली श्रमिकहरुको अवस्था, उनीहरुको समस्या र जोखिमपूर्ण अवस्थाका नेपालीलाई स्वदेश फर्काउने उचित काम सरकारले गर्न सकिरहेको छैन । इजरेल र हमासबिच शुरु भएको युद्ध तत्काल रोकिने देखिंदैन । इजरेल स्वतन्त्र देश बनेदेखि नै अरब मुलुकहरुसँग परेको टकराव र धार्मिक अतिवादले मध्यपूर्वमा दीर्घकालीन रुपमा तनाव समाधान हुन सकेको छैन ।

पश्चिमा राष्ट्र र अरब राष्ट्रहरू यस विषयमा विभाजित छन् । यसले अर्को रुस युक्रेन युद्धको रूप लिन बेर लाग्दैन । आगामी दिनमा पनि इजरायल अब जोखिमयुक्त राष्ट्रका रूपमा रहने निश्चित् छ । त्यसैले सरकारले अब इजरेलमा विभिन्न पेशा गरी बसेका नेपालीहरूलाई स्वदेश फर्काउनुको विकल्प छैन । इजरेलबाट सरकारले वैदेशिक रोजगार स्थायी समाधान होइन भन्ने पनि बुझ्न जरुरी भएको देखिन्छ । विश्वका जुनसुकै देशमा जति बेला पनि जे पनि हुन सक्छ भन्नेतर्फ सरकार सचेत रहनु पर्छ ।

नेपालले हमासले इजरेलमा गरेको भीषण आक्रमणलाई ‘आतंङ्कवादी आक्रमण’ भन्दै नेपालको परराष्ट्र मन्त्रालयले निन्दा गरेको थियो । अहिले युद्धग्रस्त क्षेत्रमा नेपालीहरु फसिरहेका छन् । कैयौं नेपालीहरु कुन अवस्थामा छन् भन्ने एथेष्ट जानकारी समेत पाइएको छैन । अझै इजरेलका दुश्मन देशहरुमा नेपालीहरु काम वा अन्य शिलसिलामा पुगिरहेका छन् । यस्तो अवस्थामा शुरूमा नेपालीहरूको अवस्था र सुरक्षा सुनिश्चित् नभइ आक्रमणको निन्दा गर्नु ठीक सही नहुन सक्छ भन्ने भनाइहरु पनि यदाकदा सुनियो । नेपाल एउटा असंलग्न राष्ट्र हुनुको अर्थ गलत कामको समर्थन गर्नु पर्छ भन्ने होइन । गुण र दोषका आधारमा हामीले हाम्रा नीतिहरू अवलम्व गर्नुपर्दछ ।

आकस्मिक ढङ्गले निर्दोष मानिसहरूमाथि हमला गर्नु त्यो आतङ्कवादी हमला नै हो । यो कायरतापूर्ण आक्रमणमा परि नेपालीहरुले ज्यान गुमाएका छन् । यो एकदमै निन्दीय घटना हो । यस्तो घटनालाई हामीले निन्दा गर्नैपर्छ । नेपालले हमास जस्तो समूहलाई सधैँ उग्रवादी समूहको रूपमा लिएको र निरन्तर उसका गतिविधिको विपक्षमा आफूलाई उभ्याउँदै आइरहेको छ । नेपाल इजरेलको कुटनीतिक सम्बन्ध स्थापित भएको मित्रराष्ट्र हो । सन् १९४८ मा स्वतन्त्र राष्ट्रका रूपमा घोषणा गरिएको इजरेलसँग नेपालले सन् १९६० मा नै कूटनीतिक सम्बन्ध कायम भएको थियो । पहिलो जननिर्वाचित नेपाली प्रधानमन्त्री बीपी कोइरालाले इजरेलसँग कूटनीतिक सम्बन्ध कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनीहरूले शताब्दीऔँदेखि पाएको दुःखलाई सहानुभूतिपूर्ण ढङ्गले हेरेर बीपी कोइरालाकै पालामा कूटनीतिक सम्बन्ध समेत नेपालले राखेको थियो । त्यतीबेला बीपी कोइरालाले ‘हाम्रो यहुदी जनताप्रति सहानुभूति छ, तर प्यालेस्टिनीहरूसँग पनि मिलेर बसिदिए हुन्थ्यो भन्ने हाम्रो नीति रहेको छ । त्यही अनुसार हामी राष्ट्रसङ्घमा मतदान पनि गर्छाै ं’ भनेका थिए । प्रधानमन्त्रीका रूपमा बीपी कोइरालाले इजरेलको भ्रमण गरेका थिए ।

सन् १९६० मा राष्ट्रसङंघको महासभामा बोल्दै कोइरालाले मध्यपूर्वको राजनीतिक वास्तविकता स्वीकार गरिए इजरेल अरब द्वन्द्व समाधान हुने धारणा राखेका थिए । राजा महेन्द्रले पनि इजरेलको भ्रमण गरेका थिए । सन् १९६३ मा राजा महेन्द्रले पनि इजरेलको भ्रमण गरेका थिए । त्यसको प्रत्युत्तरमा इजरेलका राष्ट्रपति जालमन सजारले पनि नेपालको भ्रमण गरेका थिए । नेपालले संयुक्त राष्ट्रसङ्घको सदस्यता पाएपछि सन् १९५६ मा पहिलो पटक राष्ट्रसङ्घीय महासभामा सम्बोधन गरेका तत्कालीन नेपाली परराष्ट्रमन्त्री चुडाप्रसाद शर्माले प्यालेस्टिनी समस्याबारे पनि चर्चा गरेका थिए ।

नेपाल असंलग्न परराष्ट्र नीति अवलम्वन गर्ने एउटा शान्ति चाहने देश हो । नेपालले कहिल्यै कुनै पनि परिस्थितिको युद्धहरुलाई कहिल्यै पनि समर्थन गर्दैन । नेपाल हरेक प्रकारका मानवता विरोधी आक्रमण र हिंसाहरुको विरुद्धमा हुनुपर्छ । अहिले इजरेलमा नेपालीहरुको आक्रमणमा परेर निधन भएको छ । कैयौं नेपाली मात्र होइन विश्वका अन्य मुलुकहरुका नागरिक र स्वयं इजरेली जनता पनि युद्धको चपेटामा परेका छन् ।

हमासको आक्रमण पछि इजरेलले यसलाई युद्ध नै घोषाण गरेर कारवाही गरिरहेको अवस्थामा इजरेलको वर्तमान परिस्थिति अत्यन्त संकटप्रर्ण र त्रासदीपूर्ण छ । यस्तो अवस्थामा त्यहाँ रहेका नेपालीहरुलाई सुरक्षित राख्ने र स्वदेश फर्काउन अविलम्ब पहल गर्नुपर्दछ । सरकारले यसतर्फ प्रकृया चालिसकेको छ । त्यहाँ रहेका नेपालीहरुको ज्यु ज्यानको सुरक्षा गर्दै सुरक्षित रुपमा नेपाल फर्काउने दायित्य सरकारको हो । अन्य सम्पर्कमा नभएर र भिषा बिना रहेका नेपालीहरुको पनि अवस्था यतिबेला सरकारले खोजि गर्नु पर्दछ ।

इजरेल घटनालगत्तै नेपालमा विभिन्न प्रकारका प्रतिकृयाहरु पनि आउन थालेको छ । अहिले विभिन्न प्रतिक्रिया दिएर यो परिस्थितिलाई राजनीतिकरण गर्ने समय होइन । यो आक्रमण र युद्धग्रस्त क्षेत्रबाट नेपालीलाई सुरक्षित रुपमा स्वदेश फर्काउने एउटै मात्र उद्देश्य हुनुपर्छ । सरकार, प्रतिपक्षी दल र सबै संघसंस्थाहरु एक भएर नेपालीलाई परेको यो दःुख र संकटबाट बाहिर ल्याउन एकजुट भएर क्रियाशील रहनु अहिलेको आवश्यकता हो ।