• फाल्गुन २६ २०८२, मंगलवार

हमासले भन्यो,‘बन्धक बनाइएका इजरायलीहरु हाम्रा पाहुना हुन्, परिस्थिति मिल्यो भने छोडिदिन्छौं’

आश्विन ३० २०८०, मंगलवार

काठमाडौं । अघिल्लो शनिबार इजरालयमाथि आक्रमण गरेको हमासले बन्धक बनाइएकी एक जना महिलाको भिडिओ सार्वजनिक गरेको छ । द न्युयोर्क टाइम्सका अनुसार सोमबार हमासले बन्धक बनाइएकी २१ वर्षीया मिया स्केमको भिडिओ सार्वजनिक गरेको हो । भिडिओमा मिआको कुहिनोमा लागेको चोटको एक स्वास्थ्यकर्मीले उपचार गरिरहेको देखिन्छ तर ती स्वास्थ्यकर्मीको अनुहार भिडिओमा देखिँदैन ।

मिआ गत साता एक सांगीतिक कार्यक्रममा हमासले गरेको आक्रमणमा परेकी थिइन् । आक्रमणको दिनदेखि बेपत्ता भएकी उनलाई हमासले बन्धक बनाएर लगेको भिडिओ सार्वजनिक भएसँगै खुलेको हो । एक मिनेट लामो भिडिओमा उनले आफू गाजामा रहेको र घर फर्कन आतुर रहेको बताएकी छन् ।

उनका परिवारले पनि भिडिओ हेरेका छिन् । ‘म यति मात्र भन्छु कि जति हुन्छ छिटो म परिवार, आमाबुवा र भाइबहिनी भेट्न चाहन्छु। प्लिज, जति सकिन्छ चाँडो हामीलाई यहाँबाट निकाल्नुहोस् ।’ अघिल्लो शनिबार जमिन, आकाश र समुद्रबाट इजरायलमाथि अचानक आक्रमण गरेका हमासका लडाकुले झन्डै २ सय मानिसलाई बन्धक बनाएर लगेको अनुमान छ ।

सुदूरपश्चिम विश्वविद्यालयबाट ‘लर्न एन्ड अर्न’ कार्यक्रममा इजरायल गएका कञ्चनपुरका विपिन जोशीलाई हमासले बन्धक बनाएर लगेको आशंका गरिएको छ । आक्रमणको दिनदेखि बेपत्ता रहेका विपिन इजरायलमा खोज्दा नभेटिएपछि सरकारले हमासले बन्धक बनाएको ठहर गर्दै उनको रिहाइका लागि पहल गरिरहेको जनाएको छ ।

यसैबीच हमासको सैन्य विङले बन्धक बनाइएका गैरइजरायली नागरिक आफ्ना लागि पाहुनाजस्ता भएको बताएको छ ।
समाचार संस्था रोयटर्सले ती विदेशी नागरिकहरूलाई परिस्थिति मिलेपछि रिहा गरिने पनि सैन्य विङले उल्लेख गरेको छ ।

बेलायत र अमेरिको उक्साहटमा आफ्नो भूमि कब्जा गरेर मुस्लिमहरुलाई लखेट्ने र मार्ने गर्न थालेपछि हमासले लामो समयदेखि इजरायली (यहुदी)हरुको प्रतिरोध गर्दै आएको छ । तर यसअघि भन्दा यसपालीको इजरायलमाथिको हमासको आक्रमण भयंकर रहेको छ ।