काठमडाौं । हमास र इजरायलबीच युद्ध चलिरहेका बेला यही विषयमा छलफल गर्न मुस्लिम देशहरूको संगठन अर्गनाइजेसन अफ इस्लामिक कोअपरेसन (ओआईसी)को बैठक बोलाइएको छ ।
५७ वटा मुस्लिम बहुल देशहरूको यो संगठनको बैठक साउदी अरबको आग्रहमा बोलाइएको हो । हाल यो संगठनको नेतृत्व साउदीले गरिरहेको छ । बुधबार साउदीको जेद्दामा मन्त्रीस्तरीय बैठक बोलाइएको ओआईसीले जनाएको छ । यो बैठक बोलाउनुका साथै साउदी हमास–इजरायल युद्धपछि निकै सक्रिय छ ।
साउदी क्राउन प्रिन्स सलमान विनले चीन, फ्रान्स, क्यानडा, टर्कीए लगायतका देशका नेताहरूसँग छलफल गरेका छन् । साउदीले इजरायलले गाजामा गरिरहेको आक्रमणको निन्दा गरेको छ । आईओसीले पनि गाजा स्ट्रिपमा इजरायलले गरेको आक्रमणको निन्दा गरेको छ ।
उता इरानी विदेशमन्त्रीले कतारमा हमासका प्रमुखसँग भेट गरेर हमासलाई सहयोग जारी राख्ने वचन दिएका छन् । इरानी राष्ट्रपतिले गाजामा इजरायलले युद्ध अपराध गरेको बताएका छन् ।
उता संयुक्त राष्ट्रसंघको एक अंग युनिसेफले गाजामा बालबालिकाको अवस्था निकै कष्टकर बनेको बताएको छ । साथै राष्ट्रसंघका महासचिव एन्टोनियो गुरेटेसले युद्ध भए पनि युद्धका लानि नियम हुने बताएका छन् । इजरायलले गाजामा नाकाबन्दी गरेकोमा त्यसको विरोध भइरहेको छ ।