बेइजिङ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिन चीन भ्रमणमा जान लागेका छन् । अक्टोबर १७ र १८ मा बेइजिङमा हुने बेल्ट एन्ड रोड फोरममा सहभागी हुन पुटिन चीन जाने तय भएको समाचार संस्था रोयटर्सले जनाएको छ ।
गत मार्चमा अन्तरराष्ट्रिय अपराध अदालतले पुटिनविरूद्ध पक्राउ पुर्जी जारी गरेको थियो । उक्त पक्राउ पुर्जी जारी भएपछि पुटिन पूर्वसोभियत युनियनका मुलुकभन्दा बाहिर गएका थिएनन् । बेइजिङमा हुँदा पुटिनले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गर्ने छन् ।
२ विश्व नेताको बीचमा पछिल्लो चरणमा विकास भएको राजनीतिक द्दटनाक्रमलाई कसरी अगाडी बढाउने भन्ने विषयमा छलफल हुनेछ । गत चैतमा चिनफिङले रूसको भ्रमण गरेका थिए । सन् २०२२ को फेब्रुअरीमा युक्रेनमाथि आक्रमण गर्नु केही दिनअघि पनि पुटिन बेइजिङमा थिए ।
चिनियाँ र रुसी राष्ट्र प्रमुखहरु बीचको निरन्तरको भेटका कारण पश्चिमा देशका प्रमुखहरु शसंकित भएका छन् । पश्चिमा मिडियाहरुमा चीन र रुसको गठबनधनप्रति खासगरी अमेरिकीहरु चिन्तित बनेका समाचारहरु आइरहेका छन् ।