• फाल्गुन ३० २०८२, शनिबार

मुलुकको अर्थतन्त्र चिन्ताजनक अवस्थामा पुगेको छ तर सरकार गम्भीर छैन : विष्णु पौडेल

आश्विन २८ २०८०, आईतवार

काठमाडौं । पूर्वअर्थमन्त्री विष्णु पौडेलले मुलुकको अर्थतन्त्र चिन्ताजनक अवस्थामा पुगेको बताएका छन् ।
सरकारको गलत नीति र कार्यक्रमका कारण नेपालको अर्थतन्त्र गम्भीर मोडमा पुगेको भन्दै यस्तो अवस्थामा पनि सरकार गम्भीर बन्न नसकेको बताए ।

प्रेस चौतारी नेपाल रुपन्देहीले आइतबार बुटवलमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै पौडेलले प्रधानमन्त्री आफैंले मुलुकको अर्थतन्त्र संकटको डिलमा पुगेको बताउँदै आएपनि बिग्रिँदै गएको अर्थतन्त्रको निकास खोज्नेतर्फ भने कुनै योजना बनाउन नसकेको बताए ।

‘अहिले मुलुक असाधारण संकटको अवस्थामा पुगेको छ, प्रधानमन्त्री आफैले संकटमा पुगेको अर्थतन्त्रको सामान्य उपचार गरेर मात्र हुँदैन त्यसको लागि ठूलै अप्रेशन गर्नुपर्ने बताउँदै आउनुभएको छ, सरकारले अर्थतन्त्र सुधारका लागि अप्रेसन गर्ने त टाढाको कुरा सामान्य उपचार गर्ने समेत योजना बनाउन सकेको छैन,’ पौडेलले भने ।

पौडेलले निर्माण सम्पन्न भएका आयोजनाहरूको भुक्तानी समेत दिन नसक्ने गरी मुलुकको अर्थतन्त्र गम्भीर अवस्थामा पुगेको दोर्होयाए । उनले वर्षौंसम्मको संघर्षपछि जारी गरिएको संविधानले जनतालाई सार्वभौम अधिकार सम्पन्न बनाएपनि संविधान पालना नगरेको संकेत गरे ।

देशमा आर्थिक विकास, समृद्धि र सुशासनका क्षेत्रमा कहालीलाग्दा समस्याका चाङहरू हुँदासमेत सरकारको ध्यान सत्तामा बस्न र टिक्नमा मात्र केन्द्रित रहेको उनको भनाइ थियो ।

‘अहिले सरकारसँग संचालन खर्च समेत नरहेकाले कर्मचारीलाई ऋण गरेर तलब खुवाउनुपर्ने अवस्था छ, निर्माण सम्पन्न गरेका आयोजनाहरूको भुक्तानी गर्न सकिरहेको छैन, पेन्सन र सामाजिक सुरक्षा भत्ता खुवाउन आन्तरिक ऋण लिनुपर्ने अवस्था छ, यो सबै सरकारकै गलत नीति र रवैयाले निम्त्याएको अवस्था हो,’ पौडेलले भने ।

सरकारले जघन्य अपराधमा संलग्नहरूलाई आममाफी दिँदा अपराधीहरूको मनोबल बढेको उल्लेख गर्दै सरकारका यस्तै रवैयाले नेपाल बदनाम भइरहेको बताए ।