• फाल्गुन २६ २०८२, मंगलवार

अबदेखि इजरायलबाट नियमित उडानमै नेपालीहरु नेपाल आउन पाउने

आश्विन २७ २०८०, शनिबार

काठमाडौँ । इजरायलबाट अब चाटर्ड फ्लाइट नहुने भएको छ । इजरायलबाट नियमित रूपमा व्यवसायी उडान भइरहेकाले स्वदेश फर्किन चाहने नेपालीलाई तिनै फ्लाइटमार्फत् व्यवस्थापन गरिने भएको छ ।

इजरायलबाट स्वदेश फर्किन चाहने नेपालीहरूको लागि चाटर्ड फ्लाइटमार्फत् ल्याउने सरकारले निणर्य गरेको थियो । सोही आधारमा शुक्रवार राति २५४ जना विद्यार्थीलाई स्वदेश फर्काइएको थियो । त्यसका लागि परराष्ट्रमन्त्री एनपी साउद आफैँ नेपाल एयरलाइन्सको विमानसहित इजरायल पुगेका थिए ।

तर, अब भने चाटर्ड फ्लाइट नै गरेर उद्धार गरिनेछैन । नेपाल फर्किन चाहनेहरूलाई नियमित व्यवसायीक फ्लाइट मार्फत फर्किने व्यवस्था मिलाइने सरकारले जनाएको छ । हवाई टिकट भने सरकारले बेहोर्नेछ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार स्वदेश फर्किन चाहने नेपालीको टिकट इजरायलस्थित नेपाली दूतावासले काटिदिनेछ ।

अनलाइनमार्फत् रजिस्ट्रेसन फर्म भरेका नेपालीहरूलाई घर फर्किन सहजीकरण गर्ने र टिकट दूतावासले नै काटिदिने निणर्य मन्त्रिपरिषद्को बैठकले गरेको थियो । सोही आधारमा टिकटको व्यवस्थापन गर्ने जिम्मा दूतावासलाई दिइएको परराष्ट्र स्रोतले भन्यो ।

विद्यार्थीहरू बढी जोखिममा रहेकाले सरकारले चार्टड फ्लाइट नै गरेर उद्धार गरेको थियो । हाल इजरायलमा ४ हजार ५०० भन्दा बढी नेपालीहरू छन् । उनीहरू अधिकांश केयर गिभरको रूपमा काम गर्दै आएका छन् । उनीहरूलाई धेरै जोखिम नरहेको दूतावासले जनाएको छ । उनीहरुले आउन चाहेको खण्डमा व्यवसायी उडानको टिकट काटिदिने र सोही आधारमा आउन सक्ने दूतावासले जनाएको छ । नेपाल फर्किनको लागि हालसम्म नेपाल फर्किएका बाहेक २०० जना भन्दा बढीले अनलाइन आवेदन भरेका दूतावासले जनाएको छ । उनीहरुले घर फर्किन चाहेमा व्यावसायिक उडानमार्फत फर्किने व्यवस्था मिलाइएको हो ।

‘अब चाटर्ड फ्लाइट हुँदैन । अत्यावश्यक परेको खण्डमा त भइहाल्छ । तर, अहिलेको अवस्थामा हुँदैन होला । इजरायलबाट व्यवसायी उडान पनि नियमित भइरहेकाले त्यहीबाट घर फर्किन चाहनेको टिकट भने दूतावासले काटिदिन्छ’ स्रोतले भन्यो ।