जोमसोम । उत्तरी चीनको सीमावर्ती क्षेत्र तिब्बतको कोरला नाका आसपासका दुई स्थानीय तहका नागरिकलाई बोर्डर प्रस्थान अनुमति पत्र वितरण गरिएको छ ।
बुधबारदेखि इलाका प्रशासन कार्यालयले बोर्डर पास अनुमतिपत्र वितरण गरेको हो । शुक्रबारसम्म उपल्लो मुस्ताङका झन्डै ७५० जनाले कोरला बोर्डर प्रस्थान अनुमतिपत्र लिएका छन् । इलाका प्रशासन कार्यालय लोमान्थाङले ४ सय ५० जनाको बोर्डर प्रस्थान अनुमतिपत्र पास वितरण गरेको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए ।
सीमा बोर्डर पास दर्ताका लागि आवेदन दिएका र कागजात पूरा गरेका सबैलाई शनिबार बोर्डर पास वितरण गरिएको प्रजिअ पन्तको भनाइ छ । बोर्डर पास बनाउन युवादेखि वृद्धवृद्धाहरूसमेत आएको प्रजिअ पन्तले बताए । त्यस्तै उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्डको चराङबाट २ सय ४० जनाले कोरला बोर्डर प्रस्थान अनुमति पत्र लिएका छन् । बोर्डर पास बनाउन छुटेकालाई अनुकूल समय मिलाएर पास वितरण गरिने प्रशासनले बताएको छ ।
शनिबार नेपाल-चीन समकक्षी बैठक कोरलाको तिब्बती भूमीमा सम्पन्न भएको छ । बैठकमा नाका सञ्चालन तथा व्यवस्थापनका विषयमा अनौपचारिक छलफल भएको प्रजिअ जनकराज पन्तले जानकारी दिए । छलफलमा प्रजिअ पन्तसहित नेपाल पक्षबाट सुरक्षा निकाय र उपल्लो मुस्ताङका दुई गाउँपालिकाका जनप्रतिनिधि उपस्थित थिए । बैठकमा कोरला नाका खोल्न नेपालले आवश्यक तयारी पूरा गरेको र बोर्डर पास वितरण पनि भइरहेको चीन पक्षलाई जानकारी गराइएको प्रजिअ पन्तले चीन पक्षलाई जानकारी दिएका छन् ।
चीन पक्षका समकक्षी टोलीले नाका खोल्न चीन सकारात्मक रहेको र यसका लागि केन्द्रको निणर्य पर्खनुपर्ने बैठकमा बताएका थिए । कोभिड र सुरक्षा संवेदनशीलताका कारण लगातार ४ वर्षदेखि बन्द रहेको नाका खुल्ने तयारी र धमाधम बोर्डर पास वितरण गर्न थालिएपछि उपल्लो मुस्ताङीहरू उत्साहित भएको लोमान्थाङ-३ का स्थानीय कर्मा सम्टुक गुरुङले बताए ।
सीमावर्ती क्षेत्रका बासिन्दाले अल्पकालीन ब्यापार मेलामा गएर खाद्यान्न, लत्ताकपडा, कस्मेटिक सामान, इलेक्ट्रोनिक उपकरण, किराना सामान, निर्माण सामाग्री र भेडा च्यांग्रा आयात गरिन्थ्यो । नेपालबाट यार्सा गुम्बा, पस्मिना र स्थानीय उत्पादन निर्यात गरिन्थ्यो ।