काठमाडौं । नेपालबाट यो वर्षको मनसुन प्रणाली बाहिरिने क्रम जारी छ । औसत मितिभन्दा ढिलो गरी मनसुन बाहिरिइरहेको छ ।
शनिबार (असोज २७) गण्डकी र लुम्बिनी प्रदेशका सम्पूर्ण भूभाग तथा वाग्मती र मधेस प्रदेशका अधिकांश भूभागबाट मनसुन बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन के हो ? कहाँ, कसरी बनेर आउँछ नेपालमा ? ‘यस वर्षको मनसुन आज मिति २०८० असोज २७ गतेका दिन नेपालको गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका सम्पूर्ण भूभाग तथा वाग्मती प्रदेश र मधेस प्रदेशका अधिकांश भूभागबाट बाहिरिएको छ,’ महाशाखाको विशेष मौसम बुलेटिनमा उल्लेख छ ।
महाशाखाका अनुसार यसअघि सुदूरपश्चिम र कर्णाली, लुम्बिनीका अधिकांश भूभाग र गण्डकीका पश्चिमी भूभागबाट मनसुन बाहिरिइसकेको थियो ।
नेपालका बाँकी भूभागबाट केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
मौसमविदका अनुसार नेपालमा मनसुन भित्रने औसत मिति जुन १३ तारिख हो । नेपालबाट मनसुन बाहिरिने औसम मिति अक्टोबर २ लाई मानिएको छ ।