• फाल्गुन ३० २०८२, शनिबार

सत्ता पलट भएसँगै कांग्रेस कोसीका संसदीय दलका नेता थापाले दिए राजीनामा

आश्विन २७ २०८०, शनिबार

विराटनगर । नेपाली कांग्रेस कोसी प्रदेश संसदीय दलका नेता उद्धव थापाले पदबाट शनिबार राजीनामा दिएका छन् ।
पछिल्लो समय डा. शेखर कोइराला पक्षधरबाट दलको नेता फेर्ने कसरत भइरहेको थियो । थापा कृष्णप्रसाद सिटौला पक्षधर हुन् । उनलाई पार्टी सभापति शेरबहादुर देउवाको पनि साथ थियो । थापाले राजीनामा दिनुका पछाडि प्रदेशको मुख्यमन्त्री नियुक्तिसँग सम्बन्धित लफडा मुख्य कारण हो ।

उनी आफूले पनि राजीनामा पत्रमा कोसी प्रदेश सरकार निर्माणको प्रक्रियामा भएका विकसित घटनाक्रमले नैतिकताका आधारमा संसदीय दलको नेताका रूपमा बसिरहन उपयुक्त नभएको महसुस गरेको खुलाएका छन् । दलको नीति, आदर्श र सिद्धान्तप्रति भने प्रतिवद्ध रहँदै आगामी दिनमा क्रियाशील रहने थापाले स्पष्ट पारेका छन् ।

गठबन्धनको निर्णयविपरीत कांग्रेसबाट विद्रोह गरेका पार्टीको इतर पक्षका केदार कार्की मुख्यमन्त्री नियुक्त भएका छन् । कार्की मुख्यमन्त्री बनेसँगै थापाले दलको नेताबाट राजीनामा दिएका हुन् । पत्रकार सम्मेलन गर्दै उनले नैतिकताका आधारमा आफूले राजीनामा दिएको स्पष्ट पारे ।

यसअघि थापा २ पटक कोसीको मुख्यमन्त्री बनेका थिए तर, संविधान मिचेर अघि बढ्न खोजेपछि दुवैपटक सर्वोच्च अदालतले उनको सत्तायात्रामा ‘ब्रेक’ लगाइदिएको थियो । थापाले पत्रकार सम्मेलनमार्फत् दुवैपटक सरकार जोगाउन नसकेको स्वीकार गरे। अदालतले पदमुक्त गरेपछि आफूले त्यतिबेलै राजीनामा गर्न खोजेको भएपनि विभिन्न कारणले ढिलो भएको जिकिर उनको छ । उनले नवनियुक्त मुख्यमन्त्री कार्कीलाई बधाइ पनि दिए तर, कार्की मुख्यमन्त्री भएकै कारण राजीनामा दिनु संयोग मात्रै भएको दाबी गरे ।

‘मेरो कुनै आग्रह र पूर्वाग्रह छैन,’ उनले भने, ‘विकसित राजनीतिक घटनाक्रमले राजीनामा दिँदा उपयुक्त हुने महसुस गरेर यो निर्णय लिएको हुँ ।’ थापाले पार्टीको केन्द्रीय समिति, प्रदेशसभा सचिवालय र कांग्रेसको प्रदेश कार्यसमितिलाई बोधार्थ दिएर पदबाट राजीनामा दिएका हुन् ।

राजीनामा दिन आयोजित पत्रकार सम्मेलनमा कांग्रेस नेता अमृत अर्याललगायत उपस्थित थिए । अर्यालले दलको नेतामा थापासँग प्रतिस्पर्धा गरेका थिए । थापा १८ मत ल्याएर विजयी हुँदा अर्याल २ मतमा खुम्चिए । दलको नेताका अर्का प्रतिस्पर्धी एवं कोसीका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले ९ मत ल्याएका थिए । थापाले राजीनामा दिए पनि कांग्रेसले प्रदेशमा कसलाई दलको नेता बनाउँछ भन्ने यकिन भइसकेको छैन ।