• फाल्गुन ३० २०८२, शनिबार

एमालेको समर्थनमा कोशीमा कांग्रेसका कार्की मुख्यमन्त्री बनेसँगै केन्द्रमा ३ नेताले गरे यस्तो सहमति

आश्विन २७ २०८०, शनिबार

काठमाडौं । कोशी प्रदेशको सत्ताको साँचो कांग्रेसका विद्रोही नेताको हातमा पुगेको छ । कांग्रेसको शेखर कोइराला समूहका केदार कार्की एमालेको सहमतिमा मुख्यमन्त्री नियुक्त भएपछि सत्ता गठबन्धनको केन्द्रमा हलचल मच्चिएको छ ।

यसैबीच यता सत्ता गठबन्धनका तीन नेताहरुले कोशीमा मुख्यमन्त्री नियुक्तिको विषयले गठबन्धन कमजोर भने नहुने बताएका छन् ।

कोशीको विषयमा छलफल गर्न आज बिहान प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बालुवाटारमा कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालासँग छलफल गरेका थिए ।

छलफलपछि कोशीमा भएको राजनीतिक घटनाक्रमबाट गठबन्धनलाई कमजोर हुन नदिने सहमति भएको हो । ‘हामी वर्तमान सत्ता गठबन्धनकाप्रति दृढ र स्पष्ट छौं र यो गठबन्धनलाई कुनै पनि हालतमा कमजोर हुन दिने छैनौं,’ सहमतिमा भनिएको छ ।

कोशीमा एमालेको समर्थनमाम कांग्रेसका केदार कार्की मुख्यमन्त्री नियक्त भएका छन् । यसअघि गठबन्धनको केन्द्रीय नेतृत्वले माओवादीका प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउने सहमति गरेको थियो ।
कोशीमा शेखर कोइराला पक्षबाट केदार कार्कीले मुख्यमन्त्री दाबी गरेपछि एमाले समर्थन गरी हस्ताक्षर गरेको थियो ।

यसबाट एमालेले सत्ता गठबन्धनमा फुटको विजारोपण कोशीबाट गरेको चर्चा चलिरहँदा प्रचण्ड, देउवा र शेखर कोइरालाले गठबन्धनमा प्रतिबद्ध रहने सहमति गरेका हुन् । कोशीमा गठबन्धन फुटाउन सफल भएकोमा एमाले नेताहरु भने उत्साही बनेका छन् ।