• जेष्ठ ८ २०८३, शुक्रबार

गैरीगाउँ सामूहिक हत्याकाण्डका अभियुक्त भण्डारीलाई गोलघरमा राखियो

आश्विन २७ २०८०, शनिबार

काठमाडौं । गैरीगाउँ सामूहिक हत्या प्रकरणमा अभियुक्त सञ्जय भण्डारीलाई गोलघरमा राखिएको छ ।

शुक्रबार काठमाडौँ जिल्ला अदालतले भण्डारीलाई पुर्पक्षका लागि थुनामा राख्न भन्दै केन्द्रीय कारागार सुन्धारामा पठाएको थियो । केन्द्रीय कारागार सुन्धाराले भण्डारीलाई जेलभित्रको पनि जेल अर्थात् गोलघरमा राख्न पठाएको हो ।

विशेष निगरानीमा राख्नुपर्ने सुझाव आएको भन्दै शनिवारबाट ढोका नै थुनेर राख्ने र शौचालय जाने समयमा मात्रै ढोका खोल्ने विषयमा कुराकानी भइरहेको छ । शौचालय जाँदा वा परिवारका सदस्यसँग भेटघाट गर्दा पनि दुई जना सुरक्षाकर्मी साथमै रहनुपर्ने गोलघरको नियम छ ।

गोलघरमा निकृष्ट प्रकृतिको अपराध गर्ने व्यक्ति र भाग्न सक्ने वा भाग्न खोज्ने व्यक्तिहरुलाई राखिन्छ । यसअघि गोलघरमा सिरियल किलर चाल्र्स शोभराज, गुण्डानाइके रमेश बाहुन, रिगल भन्ने योगराज ढकालहरुलाई समेत राखिएको थियो।

कारागार ऐन, २०७९ को दफा १८ मा ‘विशेष सुरक्षा कक्षको व्यवस्था गरिने’ प्रावधान छ । सुन्धारास्थित कारागार कार्यालयमा गोलघर भन्ने विशेष सुरक्षा कक्षा छ भने अन्य कारागारमा अन्य नामबाट त्यस्तो कक्षा स्थापना गर्ने व्यवस्था छ।