विराटनगर । कांग्रेसको कोसी प्रदेश संसदीय दलका उपनेता हिमाल कार्कीले बिहीबार पदबाट राजीनामा दिएका छन् । पार्टीको प्रदेश संसदीय दलका नेता उद्धव थापासमक्ष उनले राजीनामा दिएका हुन् ।
थापालाई सम्बोधन गरेर राजीनामा पत्र लेखेका कार्कीले उपनेताको जिम्मेवारी सम्हाल्न नसक्ने उल्लेख गरेका छन् । प्रदेशसभा सदस्यको जिम्मेवारी भने सक्रियतापूवर्क निर्वाह गर्ने कार्कीले खुलाएका छन् । उनले उपनेताको जिम्मेवारी सम्हाल्न नसक्नुको कारण स्पष्ट खुलाएका छैनन् ।
कोसीको नयाँ मुख्यमन्त्रीका लागि कार्की पनि आकांक्षी थिए । गठबन्धनले माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्री बनाउने निणर्य गरेको थियो । आङ्बोले बिहीबार नै प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष मुख्यमन्त्रीको दाबी पेस गरेका छन् ।
४७ जना प्रदेशसभा सदस्यको हस्ताक्षर लिएर उनले दाबी पेस गरेका हुन् ।
कांग्रेसको संस्थापनइतर समूहसहित एमालेको साथ लिएर कांग्रेसका केदार कार्कीले पनि मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् । केदार कार्कीलाई कांग्रेसका ८ जना र एमालेका ३९ जना गरेर ४७ जना प्रदेशसभा सदस्यले समर्थन गरेका छन् ।