• फाल्गुन २६ २०८२, मंगलवार

इजरायली बन्दीहरु छुटाउन हमाससित वार्ता गर्दै कतार र इजिप्ट

आश्विन २५ २०८०, बिहीबार

काठमाडौं । हमासले अपहरण गरेर गाजापट्टीमा बन्दी बनाएका मानिसहरूलाई छुटाउने प्रयास जारी छ । इजरायलबाट अपहरणमा परेका इजरायलीसँगै कैयौँ विदेशी नागरिक हमासको कब्जामा छन् । बीबीसीका अनुसार कतार, इजिप्टलगायत अन्य देशहरूले हमाससँग अपरहणमा परेका मानिसहरू छुटाउने छलफल गरिरहेका छन् ।

हमासले बन्दी भएका महिला र बालबच्चाहरू छाडे इजरायलको हिरासतमा रहेका ३६ प्यालेस्टाइनी महिला र बच्चाहरू छाडिने विषयमा छलफल चलिरहेको बताइएको छ । पुरुष बन्दीहरू छाड्ने विषयमा भने कुनै जानकारी प्राप्त भएको छैन तर, हमास र इजरायल यस्तो भीषण युद्धमा होमिएको बेला अपहरणमा परेका मानिसहरूलाई छाड्ने विषयमा हमासले सोच्न नसक्ने टिप्पणी पनि भइरहेको छ ।

हमासले गाजा क्षेत्रमा हवाई आक्रमण भए अपहरणमा परेका सबै मानिसहरू हत्या गरिदिने धम्की दिइसकेको छ । इजरायलका ऊर्जामन्त्री इसराइल काट्जले भने अपहरणमा परेका मानिसहरू नछाडेसम्म गाजामा जारी घेराबन्दी नखुल्ने बताएका छन् ।

इजरायलले यतिबेला गाजा क्षेत्र पूणर्रूपमा घेरेर त्यहाँ पानी, बिजुली, खाद्यवस्तुको आपूर्ति रोकिदिएको छ । राष्ट्र संघसँगै अन्य मानवअधिकारवादी संस्थाहरूले इजरायलको घेराबन्दीले गाजाका सर्वसाधारणहरू मारमा पर्ने बताइरहेका छन् ।