• मंसिर १४ २०८१, शुक्रबार

झलनाथको सर्प पालन कार्यक्रममा १८ करोड हिनामिना भएको भन्दै प्रदेश मन्त्रीसहित ७ जना विरुद्द मुद्दा दायर

आश्विन २१ २०८०, आईतवार

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालको प्रतिष्ठानलाई सर्प पालन कार्यक्रममा १७ करोड ९८ लाख हिनामिना भएको भन्दै मधेश प्रदेशका मन्त्रीसहित सातविरुद्ध मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको लालबन्दी नगरपालिकामा झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान, नेपालको सहकार्यमा सर्पको विष संकलन, प्रशोधन र उत्पादन केन्द्र स्थापना गर्ने कार्यमा अनियमितता गरेको भन्दै मधेश प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रालयका तत्कालीन मन्त्री विजयकुमार र लालबन्दी नगरपालिकाका तत्कालीन नगरप्रमुख मानबहादुर खड्कासहित सातजनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

प्रदेश सरकारको आव ०७६/७७ को नीति तथा कार्यक्रममा समावेश भई बजेट वक्तव्यमा नेपाल सरकार र प्रदेश सरकारको लागत सहभागिताका आधारमा प्रदेश सरकारबाट विनियोजित र संघीय सरकारबाट समेत प्राप्त समपूरक अनुदान रकम सर्पको विष संकलन, प्रशोधन र उत्पादन केन्द्र स्थापनाका निमित्त भौतिक संरचना निर्माणका लागि प्रचलित कानुनविपरीत लागत साझेदारी शून्य रहेको उक्त प्रतिष्ठानलाई बदनियतपूर्वक सरकारी रकम उपलब्ध गराई १७ करोड ९८ लाख हिनामिना गरेको अख्तियारको आरोप छ ।

यस्तै आर्थिक मामिला तथा योजना मन्त्रालयका तत्कालीन सचिव प्रेमकुमार श्रेष्ठ र प्रतिष्ठानका सञ्चालक समितिका पदाधिकारीहरु अध्यक्ष रेवतीप्रसाद पन्त, महासचिव नवराज भण्डारी, कोषाध्यक्ष निरज भण्डारी र सदस्य देवेन्द्र रायविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो ।