काठमाडौं । प्रहरीका अनुसन्धान अधिकारीलाई नै रनभुल्लमा पार्ने गरी बयान दिएपछि गैह्रीगाउँ सामूहिक हत्या प्रकरणका अभियुक्तको ब्रेन म्यापिङ गराइएको छ। ४ जनाको सामूहिक हत्यामा संलग्न रहेको भन्दै पक्राउ परेका २३ वर्षीय सञ्जय भण्डारीको ब्रेन म्यापिङ गराइएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौं स्रोतका अनुसार भण्डारीलाई केन्द्रीय कारागार सुन्धारा लगेर ब्रेन म्यापिङ गराइएको हो। स्वास्थ्य मन्त्रालयले केन्द्रीय कारागारमा मनोचिकित्सकको टिमसहित ब्रेन म्यापिङ केन्द्र स्थापना गरेको छ। सोही ठाउँमा लगेर भण्डारीको ब्रेन म्यापिङ गराइएको हो।
अपराध अनुसन्धानका लागि नेपालमा ब्रेन म्यापिङको पहिलोपटक प्रयोग गरिएको प्रहरीले जनाएको छ। ब्रेन म्यापिङमार्फत् मानसिक अवस्था ठिक भए/नभएको पत्ता लगाउने गरिन्छ।
भण्डारी गत भदौ २९ गते काठमाडौं महानगरपालिका–३२ गैह्रीगाउँस्थित दिव्य सःमिल एण्ड काष्ठ उद्योगमा भएको ४ जनाको सामूहिक हत्या प्रकरणमा संलग्न भएको आरोपमा अहिले जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन्।
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ घर भइ काठमाडौं काँडाघारीको वीरेन्द्र चोक बस्ने भण्डारीले गत भदौ २८ गते राति पौने ९ बजेदेखि सवा १० बजेसम्म आधा घण्टाको बीचमा ४ जनाको सामूहिक हत्या गरेर फरार भएका थिए। परिसर काठमाडौंको टोलीले भण्डारीलाई प्रहरीले भदौ ३१ गते पक्राउ गरेर सार्वजनिक गरेको थियो।