काठमाडौं । नेपालमा धर्मलाई लिएर भइरहेको परिवर्तनलाई लिएर शनिबार धर्मान्तरणको धन्दाको विमोचन भएको छ । अनुसन्धानकर्ता मोहन श्रेष्ठले काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँ, रूवि भ्याली, सिन्धुपाल्चोक, काभ्रे, रसुवा, मकवानपुर जस्ता गाउँहरूलाई केन्द्रबिन्दु बनाई लामो समय स्थलगत अनुसन्धानपछि धर्मान्तरणको धन्दा पुस्तक लेखेका हुन् ।
शनिबार संस्कृतविद डा जगमान गुरूङ ,पूर्व एआईजी कल्याण कुमार तिम्सिना र कलाकार निखिल उप्रेतीले सामुहिक रूपमा श्रेष्ठद्वारा लिखित “धर्मान्तरणको धन्दा” पुस्तक विमोचन गरेका थिए ।
पुस्तकबारे समिक्षा गर्दै मोहन लामा रुम्बाले मल्लकालदेखि धर्मान्तरणको धन्दा सुरु भएको बताउँदै हाम्रै पुर्खाहरुले आजको जस्तो सचेत नरहे पनि हाम्रो धर्म,संस्कृती र सभ्यतालाई संरक्षण गर्दै आइरहेको हुनाले अन्य विश्वले जस्तो धार्मिक द्वन्दको सामना गर्नुनपरेको जानकारी गराएका थिए ।
पुस्तकका लेखक पत्रकार श्रेष्ठले १० वर्ष लामो गहिरो अनुसन्धानपश्चात् नेपालमा धर्मान्तरणको धन्दा कसरी चलिरहेको र यसले कसरी नेपालको धार्मिक र सांस्कृतिक पहिचान ध्वस्त हुन लागेकोबारे सबै नेपालीलाई सचेत गराउन धर्मान्तरणको धन्दा लेखेको बताएका छन् ।
पूर्व प्रहरी अधिकृत तथा हिन्दु स्वयंसेवक संघका राष्ट्रिय सहप्रचारक कल्याण तिमिल्सिनाले धर्मान्तरणलाई रोक्न हिन्दुहरु एक हुन आवश्यक रहेको बताए । हिन्दुहरूले आफू र आफ्नो सन्ततीलाई संस्कारित शिक्षा दिनुपर्ने विषयका साथ सरकार नै सनातनीहरूलाई अल्पमतमा पार्ने काममा लागेकोले गाउँ – गाउँबाट जाग्दै स्वधर्म रक्षाका खातिर अगाडि बढ्नुपर्ने बिचार प्रस्तुत गरेका थिए । पुस्तकका विषयवस्तुमा धर्मान्तरणबाट आहत पारिएको गाउँको कथाले वास्तविक नेपालको चरित्र चित्रण गरेको , विश्वका समृद्ध संस्कृतिको संहार गरेको , विभिन्न जातजातिको मौलिक संस्कृतिलाई निमिट्यान्न पारेको , आफ्नो भोगाई मार्फत धर्मान्तरित समाजलाई पुनः आफ्नो धर्ममा फर्काई शिवभक्त बनाउँदै मन्दिरको पुजारी बनाइएको, विभिन्न कालखण्डमा प्रकाशित धर्मान्तरणका आधिकारिक लेखहरूलाई आधारमानि पुस्तक प्रकाशित भएको विषय जानकारी गराइएको थियो।
कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति प्रा. डा. जगमान गुरुङले नेपाल अंग्रेज युद्धमा उन्नाइस वर्षका उजिर सिंहले अंग्रेजलाई धपाएको इतिहास बताउँदै नेपालका प्राज्ञिक र राजनैतिक वर्गको द्रव्य लोलुपताले आज नेपालमा धर्मान्तरणले प्रश्रय पाइरहेको विषय राख्दै प्राज्ञिक वर्गले आफ्नो लेखनी मार्फत पौरस्त्यविधाको अनुसन्धान गरी समाजलाई सहि दिशा निर्देशन गर्नुपर्ने विचार व्यक्त गरेका थिए ।
पुस्तकका प्रकाशक सन्तोष आचार्यले धर्मान्तरणको धन्दामा योजनावद्ध तरिकाले गतिविधिहरु भइरहेको बताउँदै सामाजिक सञ्जालमा नक्कली आइडी बनाएर धर्मान्तरणको खेती चलाइरहेकोबारे उल्लेख गरे ।