• जेष्ठ ८ २०८३, शुक्रबार

आइतबारदेखि सरकारले चाडपर्व लक्षित सस्तो पसल सञ्चालन गर्ने

आश्विन २० २०८०, शनिबार

काठमाडौं । सरकारले आइतबारदेखि चाडपर्व लक्षित सस्तो पसल सञ्चालन गर्ने भएकाे छ। काठमाडौं उपत्यकामा रहेका आठ बिक्री केन्द्र र तीन घुम्ती पसलसमेत गरी जम्मा ३५ स्थानमा बिक्रीस्थल रहनेगरी सस्ताे पसल सञ्चालन गर्न लागिएकाे हाे।

राजधानीबाहिर मोरङ, झापा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दिक्तेल, भोजपुर, ओखलढुंगा, खोटाङ, सिराहा, जनकपुर, पर्सा, कास्की, तनहुँ, गोरखा मनाङ, मुस्ताङ, रुपन्देही, बाँके, दाङ, बर्दिया, रुकुम, रोल्पा, बझाङ, अछाम, दार्चुला, महेन्द्रनगरलगायत ४२ जिल्लाका ४८ स्थानमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीका सहुलियतपूर्ण पसल सञ्चालन हुनेछन्।

सहुलियत मूल्य पसल सञ्चालनका लागि सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई दुई करोड ३२ लाख २० हजार बजेट छुट्याएको छ। साल्ट ट्रेडिङमार्फत बिक्री हुने सामानमा सहुलियत दिन सरकारले एक करोड रुपैयाँ छुट्याएको छ।

साल्ट ट्रेडिङ कर्पोरेसनले चिनी प्रतिकिलो ९७ रुपैयाँमा बेच्नेछ भने बजार मूल्यको तुलनामा नुनमा प्रतिकिलो दुई र तेल तथा चिउरामा प्रतिकिलो सात रुपैयाँ छुट दिनेछ। यसैगरी दुग्ध विकास संस्थानले घिउमा प्रतिकिलो २०, पनिर प्रति दुई सय ग्राममा २० रुपैयाँ छुट दिनेछ।