काठमाण्डौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले गैरआवासीय नेपालीका छोराछोरी र नातिनातिनासम्मले नेपाली नागरिककै हैसियत पाउने बताएका छन्।
गैरआवासीय नेपाली संघ (एनआरएनए) र एसोसिएसन अफ नेप्लिज इन अमेरिका (एएनए) द्वारा शनिबार आयोजित भर्चुअल अन्तरक्रियामा पुनले गैरआवासीय नेपालीका शाखा सन्तानहरुको हैसियत पनि नेपालीकै हुने बताए।
गैरआवासीय नेपाली (एनआरएन) र उनीहरुका सन्तानले राजनीतिकबाहेक आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने व्यवस्था संविधान र नागरिकता ऐनले स्पष्ट गरेकाले उनीहरु विदेशी हुन नसक्ने पुनको भनाइ थियो। ‘अध्ययनको सिलसिला, अवसरको खोजी वा अन्य बाध्यताले नेपालीहरु विभिन्न देशमा पुग्नुभएको छ। ‘एकपटकको नेपाली सधैंको नेपाली’ भन्ने एनआरएनएको भावनात्मक नाराले हामी नेपालमा भएकाहरुको मन छुन्छ’, पुनले भने, ‘तपाईंहरुको नारामा पूर्ण सहमत हुँदै म भन्न चाहन्छु, एकपटकका नेपालीका छोराछोरी र नातिनातिनासम्म पनि नेपाली नै हुन्।’
त्यही कारण धेरै लामो बहस र छलफलपछि संविधानमा गैरआवासीय नागरिकताको प्रावधान राखिएको पुनकाे भनाइ थियाे। ‘संविधान लेखनका क्रममा हाम्रो बीचमा धेरै छलफल र बहसहरु भए’, उनले भने, ‘अन्तिममा हामी विदेशमा रहेका नेपालीलाई गैरआवासीय नागरिकता दिनुपर्छ। राजनीतिक बाहेक बंशज वा अंगीकृत नागरिकले पाउने सबै अधिकार एनआरएनहरुले पाउन] भन्ने व्यवस्था हामीले गरेका छौं।’