बुटवल । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले नेपालमा सम्भावना मात्र रहेको बताएका छन् । बुटवल उद्योग वाणिज्य संघको ७०औँ वार्षिक साधारणसभा तथा २५औँ अधिवेशनमा बोल्दै उनले पछिल्लो समय युवाहरू विदेश पलायन भइरहे पनि नेपालको हर क्षेत्रमा सम्भावना रहेको बताए ।
खाली स्थान र अनकन्टार ठाउँ जहाँ पनि सम्भावना रहेको तर काम गर्ने इच्छा शक्ति नहुँदा विदेश पलायन हुनेहरू धेरै भएको उनले बताए । अहिले केही असजिलो भएको भन्दै कालीगण्डकी कोरिडोरले कोरोला नाका पुगेमा यस क्षेत्रको मात्र नभई समग्र देशको आर्थिक चलायमान गर्ने सम्भावना रहेको समेत बताए ।
आफू शून्यबाट उठेर विभिन्न व्यावसायिक घरानाको नेतृत्व गरेको स्मरण गर्दै उनले सम्भावनाको पहिचान गर्न नसक्दा पनि नेपालमा नयाँ कार्य केही हुन नसकेको उनले बताए ।
साथै, उनले उद्योगीहरूले भोग्दै आएको ट्रंक लाइनको विषय प्रधानमन्त्री स्तरसम्म पुगेर छलफल भइरहेको समेत बताए । व्यवसायीहरूले विद्युत उपयोग नगरेको अवस्थामा जरिवाना तिर्न प्राधिकरणबाट ताकेता आएपश्चात् यसबारे प्रधानमन्त्री, जलस्रोत मन्त्री, विद्युत प्राधिकरणका प्रतिनिधिहरूसहित बसेर छलफल भएको र लाइन काट्ने निणर्यबाट सरकार पछि हटेको उनले बताए ।
अहिले बजारमा देखिएको मन्दी विश्वभर रहेको बताउँदै नेपालमा अर्थतन्त्रमा देखिएको मन्दी कुनै सरकार वा निजीक्षेत्रका कारण नआएको भन्दै अब यो मन्दी बिस्तारै लयमा आउनेसमेत विश्वास व्यक्त गरे ।