काठमाडौँ । यस वर्षको नोबेल शान्ति पुरस्कार जेलमा रहेकी इरानी मानव अधिकार कार्यकर्ता नरगिस मोहम्मदीलाई दिने निर्णय भएको छ ।
५१ वर्षीय नरगिस मानव अधिकारको क्षेत्रमा काम गरेकै कारण सन् २०११ यता कयौँ पटक जेलमा परेकी छन् । उनलाई इरानी महिलाको हक, मानव अधिकारको रक्षाका लागि निर्वाह गरेको भूमिकाका कारण नोबेल शान्ति पुरस्कार दिने निर्णय भएको हो ।
नोबेल पुरस्कार विजेता चयन गर्ने कमिटीका अनुसार नरगिस मोहम्मदीले इरानमा महिलामाथि हुने दमनविरुद्ध संघर्ष गर्दै आएकी छन् । उनले देशमा सबैको मानव अधिकार र स्वतन्त्रताका लागि संघर्ष गर्दै आएको बताइन्छ ।
ओस्लोमा नर्वेजियन नोबेल कमिटीका प्रमुख बेरिट रिस–एन्डर्सनले जनाए अनुसार इरान सरकारले नरगिसलाई १३ पटक गिरफ्तार गरिसकेको छ । पाँच पटक उनलाई विभिन्न कसुरमा दोषी ठहर गरिएको छ भने ३१ वर्षको जेल सजाय सुनाइएको छ । उनी अहिले पनि जेलमै छिन् ।