सुनसरी । पछिल्लो समय धार्मिक रूपमा उत्तेजित अभिव्यक्ति दिइरहेका श्रीनिवासचार्य भनिने दिनेश पण्डितलाई सुनसरी प्रहरीले नियन्त्रणमा लिएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिकास्थित चक्रघट्टीबाट मंगलबार पण्डितलाई पक्राउ गरिएको हो ।
पण्डितलाई पक्राउ गरिएको विषयमा भने प्रहरीले सार्वजनिक गरेको छैन । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी नवीनकृष्ण भण्डारीका अनुसार सामान्य सोधपुछका लागि ल्याइएको हो । ‘यही विषय भन्ने छैन, सामान्य सोधपुछका लागि बोलाइएको हो,’ भण्डारीले भने ।
पण्डितले सामाजिक सञ्जालमा हिन्दु धर्मको पक्षमा धार्मिक सद्भावविपरीतका अभिव्यक्ति दिने गरेका छन् । नेपालगन्जमा भएको धार्मिक द्वन्द्वमा सामाजिक सञ्जाल फेसबुकबाट उनले तीखो टिप्पणी गरेका थिए ।
उनी २०७४ चैत २५ मा आफ्नै पाखुरामा गोली हान्न लगाएको आरोपमा पनि पक्राउ परेका थिए ।