राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पूर्वप्रधानमन्त्रीहरूलाई संसदमा बोल्न दिने समयबारे पुनर्विचार गर्नुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा केसीले समय निर्धारणबारे असन्तुष्टि जनाएका हुन् ।
संसदमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले करिब २ घण्टा सम्बोधन गरेकोप्रति लक्षित गर्दै केसीले यस्तो बताएका हुन् । ‘पूर्व प्रधानमन्त्रीहरूलाई, पूर्वसभामुखहरूलाई जति मन लाग्छ, त्यति बोल्न दिन मिल्छ ? अरु सबै त्यही सुन्न मात्रै आएको हो ?’ केसीको प्रश्न थियो ।
पूर्वप्रधानमन्त्री र पूर्वसभामुखहरूलाई जति मन लाग्यो, त्यति समय बोल्न पाउने व्यवस्था गर्न नहुने केसीको भनाइ छ । मंगलबार प्रतिनिधिसभा बैठकमा ओलीले बोल्दा के नयाँ कुरो आयो ? भन्दै केसीले प्रश्न गरे । ‘दुई घण्टा बोल्दाखेरी नयाँ कुरा के नै आयो उहाँको ? त्यसकारण यसमाचाहिँ विचार गर्नुपर्छ,’ केसीले भने ।
अपराधीहरूलाई पनि आममाफी दिने काम गरेको भन्दै राष्ट्रपति रामचन्द्र पौडेलप्रति केसीले असन्तुष्टि जनाए । ‘राष्ट्रपतिबाट गणतन्त्र दिवसको अवसरमा, संविधान दिवसको अवसरमा फौजदारी मुद्दा लागेका अपराधीहरूलाई जुन मिनाहा दिने काम भयो, यो अत्यन्तै गलत काम छ,’ केसीले भने, ‘जघन्य अपराध गरेका अपराधीहरूलाई न्यायालयले सर्वश्वसहित जन्मकैद गरेपछि कार्यकारीले सिफारिस गरेपछि उसले छुट पाउने । यही हो लोकतन्त्र, यही हो गणतन्त्र ?’
कार्यकारीले गरेको सिफारिस आफूले मान्नुपर्छ भनेर राष्ट्रपतिले विवशता प्रकट गरेको केसीको भनाइ छ । ‘राजनीतिक पार्टीहरूको, सत्ताधारीहरूको सिफारिसमा जे सिफारिस आउँछ, त्यो मैले मान्नुपर्छ भनेर सम्माननीय राष्ट्रपतिज्यूले विवशता प्रकट गर्नुभएको छ,’ केसीले भने, ‘यदि कार्यकारीले सिफारिस गरेर हरेक प्रकारका ज्यानमाराहरू, अपराधीहरूले छुट पाउने हो भने न्यायपालिका किन चाहियो र ?’