• बैशाख २२ २०८३, मंगलवार

प्रतिनिधि सभा बैठक बस्दै, शिक्षा विधेयक पेस गरिने

आश्विन १४ २०८०, आईतवार

काठमाडौँ । प्रतिनिधि सभा बैठक आज (आइतबार) बस्दै छ ।

दोस्रो अधिवेशनको ५६औँ बैठक बस्न लागेको हो । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्ने बैठक दिउँसो १ बजे सुरु हुनेछ । बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउनेछन् ।

सभामुखले नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउनेछन् ।यस्तै, ‘विद्यालय शिक्षा विधेयक, २०८०’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालबाट प्राप्त विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिनेछ ।

त्यसपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले विद्यालय शिक्षा विधेयक, २०८० पेस गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद्का महासचिव डा. भरतराज गौतमले जानकारी दिए ।