कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले चिकित्सक कुट्ने र अस्पताल तोडफोड गर्ने व्यक्तिलाई कुनैपनि बाहनामा उन्मुक्ति दिन नहुने बताएका छन् ।
शनिवार गोरखा अस्पताल निरिक्षणको क्रममा मुख्यमन्त्री पाण्डेले भने, ‘अस्पतालमा भएका कुटपिटका घटनाका संलग्न व्यक्ति जुनसुकै पार्टीको होस्, चाहे मेरै पार्टी (कांग्रेस) को होस्, वा अरु कसैको, त्यसमा हाम्रो तर्फबाट कुनै सहानुभूति वा सद्भाव केही पनि रहँदैन ।’
चिकित्सक कुटपिटका गतिविधिमा संलग्नलाई कानुनी कारवाहीको दायरामा ल्याउनुपर्ने उनले बताए । ‘यो कुरामा सम्झौता कसैसँग पनि हुँदैन,’ उनले थपे ‘चिकित्सकमाथि कुटपिट संवेदनशिल विषय भएकाले सबैको ध्यानाकर्षण हुनुपर्छ ।’ मुख्यमन्त्री पाण्डेले भने, ‘कुनैपनि डाक्टरले बिरामीलाई मारौं भनेर उपचार गर्दैन । त्यस्तो हामीले सोच्नु पनि हुन्न ।’
पछिल्लो केही समय यता गण्डकी प्रदेशको पोखरा, लमजुङ लगायतका जिल्ला र देशका बिभिन्न ठाउँमा चिकित्सकमाथि आक्रमणका घटना भईरहेको बताउँदै मुख्यमन्त्री पाण्डे भने, ‘अस्पतालमा अराजकता बढ्दै गएको छ ।’ पछिल्लो समय अस्पतालमा अराजकता बढ्नुको कारण बिरामीको मृत्युपछि क्षतिपूर्ति दिने प्रथा पनि रहेको उनले बताए ।