• असार ४ २०८२, बुधबार

छात्राबासमा बालक झुण्डिएको अवस्थामा भेटिएपछि अभिभावकद्वारा विद्यालयमा आगजनी

आश्विन १३ २०८०, शनिबार

वीरेन्द्रनगर । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-६ घण्टाघर अगाडि रहेको उषा बालबाटिका माविको होस्टेलमा विद्यार्थी झुण्डिएको अवस्थामा फेला परेका छन् । कक्षा २ मा अध्यनरत ८ वर्षका सलाम पुलामीमगर दुई तला भएको बेडमै झुण्डिएको अवस्था फेला परेका हुन् ।

दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका-१ स्थायी घर भएका बालक पुलामीमगर शंकास्पद रुपमा बेडमै झुण्डिएको अवस्थामा शुक्रबार साँझ फेला परेका भन्दै शव आफन्तहरुले उठाउन दिएका छैनन् । त्यसकै कारण हालसम्म पोष्टमार्टम हुन नसकेको प्रहरीले जनाएको छ ।

उषा बालबाटिकामा पढाउनका लागि होस्टेलमा राखेको बालकलाई कसैले मारेर बेडमा झुण्ड्याएको भन्दै आफन्तले विद्यालयमा आगजानी गरेका छन् । विद्यालयमा रहेका फर्निचरहरु जम्मा पारेर विद्यालयभित्र आगलागी गरेपछि नियन्त्रणका लागि दमकलसहित डिएसपी लक्ष्मण शाहीको नेतृत्वमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख योगेन्द्रसिंह थापाले बताए ।

घटनास्थलमा अहिले प्रहरी तैनाथ गरिएको छ । आक्रोसित आफन्तहरुले आन्दोलन गरेपछि उक्त क्षेत्रको अवस्था तनावग्रस्त बनेको छ । भीडलाई साम्य पार्न प्रहरीले अश्रु ग्याँस प्रहार गरेको छ ।