एजेन्सी । गएको पाँच महिनायता अशान्त भारतको पूर्वीउत्तर राज्य मणिपुरमा पुन: हिंसा भड्किएको छ। जातीय विशेषाधिकार पाउने आरक्षित सूचीको विवादले निम्त्याएको संघर्षले मणिपुरमा मे २ यता साम्प्रदायिक द्वन्द्व जारी छ।
अप्रिल १९ मा मणिपुर उच्च अदालतले मैतेई समुदायलाई अनुसूचित जनजातीमा समावेश गर्न आदेश दिएपछि कुकी समुदायले अदालत र मैतेई समुदायविरुद्ध प्रदर्शन सुरु गरेको थियो। मे २ मा उक्त प्रदर्शनले हिंसाको रुप लिएको थियो। २ जना कुकी महिलालाई मैतेई समुदायका पुरुषले नांगै बनाएर गाउँ डुलाएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि उक्त हिंसाले विश्वको ध्यान खिचेको थियो।
पछिल्लो हिंसा भने बेपत्ता भएका दुई छात्राको मृत्यु भएको पुष्टि भएपछि सुरु भएको भारतीय सञ्चार माध्यमहरूले बताएका छन्। जुलाई महिनादेखि हराइरहेका ती छात्राहरूको २ महिनापछि बुधबार मृत्यु भएको पुष्टि भएसँगै मणिपुरमा हिंसा सुरु भएको हो। हिंसालाई नियन्त्रणमा लिन प्रशासनले कर्फ्यु लगाएको छ।
सो राज्यको राजधानी इम्फालमा बुधबार रातिदेखि विरोध प्रदर्शन, तोडफोड र आगजनी भइरहेको भारतीय संचार माध्यमहरूले बताएका छन्। आक्रोशित भिडले राजधानी इम्फालका एक वरिष्ठ राजनीतिज्ञको घरमा तोडफोड गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो। भिड प्रहरीमाथि जाइ लागेपछि प्रशासनले स्थिति नियन्त्रणमा लिन ‘कोम्बिङ’ नामको अप्रेसन सुरु गरेको न्युज लण्डरीले जनाएको छ।
मे मा जातीय सद्भाव भड्किँदा मैतेई र कुकी समुदाय एकआपसमा भेडेका थिए। जसका कारण हालसम्म १४२ जनाभन्दा बढीको हत्या भएको बीबीसीले जनाएको छ। उक्त संख्याा अझै बढी हुनसक्ने अनुमान गरिएको छ। मणिपुरमा हिंसा भड्किनुमा केन्द्रीय सरकारको नेतृत्व गरिरहेको भारतीय जनता पार्टी प्रमुख जिम्मेवार रहेको विपक्षी दलहरूको आरोप लगाउँदै आएका छन्।
उक्त घटनाबारे आफ्नो धारणा सार्वजनिक नगरेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध विपक्षीहरूले संसद्मा अविश्वासको प्रस्ताव समेत दर्ज गराएका थिए। संसद्मा आफूमाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री मोदीले मणिपुर शान्त भइसकेको छोटो टिप्पणी गरेका थिए। १५ अगस्टमा आजादी दिवसका अवसरमा समेत उनले मणिपुरबाट शान्तिको खबर आइरहेको दाबी गरेका थिए।