• मंसिर १४ २०८१, शुक्रबार

नेपाल-चीनबीच रसुवागढी-केरुङ विद्युत प्रसारण लाइन निर्माण गर्ने सम्झौता

आश्विन ८ २०८०, सोमबार

काठमाडौँ । नेपाल चीनबीच रसुवागढी केरुङ विद्युत् प्रसारण लाइन निर्माण गर्ने सम्झौता भएको छ । नेपालले भारतपछि चीनसँग अन्तरदेशीय विद्युत् प्रसारणलाइन निर्माण गर्ने सहमति गरेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणका क्रममा २२० केभी प्रसारण लाइन निर्माण गर्ने सोमबार सहमति भएको स्रोतले जनाएको छ ।
त्यसैगरी संखुवासभाको किमाथांका हुँदै चीनसम्म निर्माण गरिने विद्युतीय प्रसारण लाइनको सम्भाव्यता अध्ययन गर्ने दुई देशबीच सहमति भएको छ ।

‘रसुवागढी केरुङ विद्युतीय प्रसारण लाइन चीनको सरकारको अनुदानमा निर्माण गर्न सहमति भएको छ,’ स्रोत भन्यो, ’यस विषयको औपचारिक घोषणा आजै हुनेछ ।’

सहमति अनुसार रसुवाको चिलिमेबाट तिब्बतको जियोङसम्म १६ किलोमिटर लामो प्रसारण लाइन चीन सरकारले बनाइदिनेछ । नेपालले भारतपछि चीनसँग अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने भएको हो । यसअघि, प्रधानमन्त्री पुष्पकमल दाहाल र चिनियाँ प्रधानमन्त्री ली छ्याङको उपस्थितिमा १२ वटा सम्झौता तथा समझदारी र एउटा लेटर अफ एक्सचेन्जमा हस्ताक्षर भएको थियो ।