• असार ३ २०८२, मंगलवार

युरोपमा फैलियो खतरनाक वायु प्रदूषण, लाखौं मानिसको ज्यान जोखिममा

आश्विन ३ २०८०, बुधबार

काठमाडौं । युरोपमा सबैजसो नागरिक खतरनाक स्तरको वायु प्रदूषण भएको क्षेत्रमा बसोबास गरिरहेको पाइएको छ । युरोपका ९८ प्रतिशत मानिस विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा बढी हानीकारक वायु प्रदुषण भएको क्षेत्रमा बसोबास गरिरहेको तथ्यांकले देखाएको हो ।

बेलायती पत्रिका दी गार्जियनले १,४०० भन्दा बढी ग्राउन्ड मोनिटरिङ स्टेसनको तथ्यांक र स्याटेलाइट तस्बिरको डाटा विश्लेषण गर्दै वायु प्रदूषणको भयानक स्थिति सार्वजनिक गरेको जनाएको छ ।

युरोपमा झन्डै दुई तिहाइ मानिस वायुको गुणस्तर डब्लूएचओको मापदण्डभन्दा दोब्बर भएको ठाउँमा बसोबास गरिरहेको गार्जियनले उल्लेख गरेको छ । वायु प्रदूषणले सबैभन्दा बढी प्रभावित देश उत्तरी म्यासेडोनिया भएको विश्लेषण देखाएको छ ।

त्यहाँका दुई तिहाइ मानिस डब्ल्यूएचओको मापदण्डभन्दा चार गुणा बढी प्रदूषण भएको ठाउँमा बसिरहेको र राजधानी स्कोप्जेसहित चार ठाउँमा ६ गुणा बढी वायु प्रदूषण भएको तथ्यांकले देखाएको छ ।

पूर्वी यूरोपमा पश्चिमी युरोपभन्दा झनै डरलाग्दो वायु प्रदूषण रहेको देखिएको छ । गार्जियनले पर्टिकुलेट म्याटर (कण पदार्थ) पीएम२.५ को मापन गरेको जनाएको छ । खासगरी जिवाश्म इन्धन बाल्दा निस्कने यी साना कणहरू फोक्सो हुँदै रगतका माध्यमबाट शरीर भर फैलिएर सबै अंगलाई असर गर्छ ।

डब्ल्यूएचओले वर्षभरी औसतमा पीएम २.५ को मात्रा प्रतिघनमिटर पाँच माइक्रोग्राम नाघ्न नहुने मापदण्ड तोकेको छ । तर, यस्तो ठाउँमा दुई प्रतिशत युरोपेली मात्रै बसोबास गरिरहेको नयाँ विश्लेषणले देखाएको हो । विज्ञहरूले युरोभरी पीएम२.५ का कारण वर्षभरी चार लाख जनाको मृत्यु हुने गरेको जनाएका छन् ।