मस्को । रुसले युक्रेनमा आक्रमण जारी राखेकै बेला युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सोमबार अमेरिका पुगेका छन् । मंगलबार जेलेन्स्कीले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई भेट्ने कार्यक्रम छ ।
यस्तै, बाइडेनले संयुक्त राष्ट्रसंघको महासभालाई पनि सम्बोधन गर्ने कार्यतालिका छ । रुसविरुद्धको युद्धमा अमेरिका युक्रेनको प्रमुख साझेदार राष्ट्र हो, जसले अर्बौंका हतियार युक्रेनलाई सहयोग गरिरहेको छ । गत वर्षको फेब्रुअरीमा रुसले आक्रमण गरेयता जेलेन्स्कीको यो दोस्रो अमेरिका भ्रमण हो ।
सामाजिक सञ्जाल एक्समा जेलेन्स्कीले ओलेना जेलेन्स्का र आफू उच्चस्तरीय वार्ताका लागि अमेरिका पुगेको जानकारी दिएका छन् । उनले राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने र वासिङ्टन डीसीको भ्रमण गर्ने पनि बताएका छन् । जेलेन्स्की थप भन्छन्, ‘युक्रेनले कसरी क्षेत्रीय अखण्डताको सिद्धान्तलाई सुदृढ गर्ने र आक्रामकतालाई रोक्ने साथै आक्रामक गतिविधि रोक्ने राष्ट्रको क्षमतामा सुधार गर्ने भन्नेबारेमा राष्ट्रसंघका सदस्य राष्ट्रहरूलाई ठोस प्रस्ताव राख्नेछ ।’
अमेरिका पुगेका जेलेन्स्कीले रुसी सेनाको आक्रमणमा घाइते भएका र अमेरिकामा उपचार गराइरहेका युक्रेनी सैनिकहरूलाई पनि भेटेका छन् । उनले स्वतन्त्रता र अखण्डताको संघर्षमा साथ दिइरहेका अमेरिकी नेतृत्वलाई धन्यवाद पनि भनेका छन् ।
उता जेलेन्स्की अमेरिका पुगेकै बेला रुसले युक्रेनका अन्न भण्डार र मानवीय सहायता सामग्री राखिएका भवनमा आक्रमण गरेको छ । युक्रेनी शहर लभिभमा रहेको अन्न भण्डार र मानवीय सहायता राखिएका भवनमा आक्रमण भएको हो । यो आक्रमणमा एक व्यक्तिको मृत्यु भएको छ भने ठूलो संख्यामा अन्न र मानवीय सहायता सामग्री नष्ट भएका छन् ।