काठमाडौँ । काठमाडौँको तीनकुनेस्थित गैह्रीगाउँमा चार जनाको हत्या भएको अवस्थामा शव फेला परेको छ ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले धारिलो हतियार प्रहार भएको अवस्थामा चार जनाको शव फेला परेको जानकारी दिए । घटना राति १२ बजेतिरको भएको अनुमान गरिएको छ ।
मृत्यु हुनेमा दुई महिला र दुई पुरुष रहेका र अहिले घटनास्थलमा प्रहरी परिचालन भएको उनले बताए । घटनाको अनुसन्धानका लागि तालिमप्राप्त प्रहरी र कुकुरको समेत परिचालन गरिएको छ । हत्या भएका चारै जनाको शवको सनाखत भएको छ।
मृत्यु हुनेमा दोलखाका ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती करिब ५० वर्षकी अम्बिका भुजेल र आमा सुमित्रा भुजेल रहेका छन्।
यस्तै मोरङका १९ वर्षका नवीन राई छन्। कुमार दिव्य सः फर्निचर मिलका सुरक्षा गार्ड हुन्।
मिलभित्र धारिलो हतियार प्रहार गरी हत्या गरेको अवस्थामा शनिबार बिहान ४ जनाको शव फेला परेको थियो।
हत्याको आशङ्कामा प्रहरीले धनकुटाका २४ वर्षीय दीपेन्द्र राईलाई प्रहरी नियन्त्रणमा लिएको छ।