काठमाडौं । सरकारले प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत गर्ने निणर्य गरेको छ । सिंहदरबारमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघबाट सिधै हुने चीनको भ्रमण स्वीकृत गर्ने निणर्य गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
चीन भ्रमणका क्रममा ऊर्जा, भौतिक पूर्वाधार तथा यातायात, कृषि लगायतका विषयमा दुई पक्षीय छलफल हुने र केही विषयमा समझदारी हुने उनले बताइन् । उनले चीन भ्रमणमा परराष्ट्रमन्त्रीसहित खानेपानी र भौतिक पूर्वाधार मन्त्री पनि भ्रमण टोलीमा रहने बताइन् ।
बैठकले संविधान दिवसका अवसरमा प्रदान गरिने बिभुषण वितरणलाई मर्यादित बनाई राष्ट्रको सम्मानको रुपमा स्थापित गर्न अन्तर्राष्ट्रिय अभ्यास र बिभुषणसम्बन्धी कानुनको अध्ययन गरी तीन महिनाभित्र प्रतिवेदन पेस गर्न कार्यदल गठन गरेको छ ।
कार्यदलको अध्ययन प्रतिवेदन नआएसम्म हाललाई बिभुषण प्रदान कार्य स्थगन गरिएको प्रवक्ता शर्माले बताइन् । बैठकले कर प्रणाली सुधारका लागि समिति गठन गर्ने निणर्य गरेको छ भने चाडपर्वलाई ध्यानमा राखेर साल्ट ट्रेडिङ र खाद्य व्यवस्थालाई ५० प्रतिशत भन्सार छुटमा १०-१० हजार मेट्रिक टन चिनी आयात गर्न स्वीकृत दिने निणर्य गरिएको उनले बताइन् ।
त्यस्तै बैठकले सिचाई नीति २०८० स्वीकृत गर्ने निणर्य गरेको छ भने नेपाल नागरिकता ऐन तेस्रो संशोधन नियमावली स्वीकृत गर्ने निणर्य गरेको छ ।