काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले व्यवसायी तथा निजी क्षेत्रले भएको पैसा खर्च नगर्दा अर्थतन्त्रमा समस्या निम्तिएको बताएका छन् । मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरू भएको ‘नाडा अटो शो २०२३’ को उद्घाटन समारोहमा बोल्दै मन्त्री महतले खर्च बढाउनु पर्ने अवस्था आएको बताए ।
अहिले अर्थतन्त्रमा मन्दी रहेको भन्दै अवस्था अब सुध्रिने उनले बताए । उनले आर्थिक विकासको संवाहक निजी क्षेत्र भएको बताए । ‘अर्थतन्त्रमा समस्या छ । तर यो समस्या धेरै रहँदैन । जग्गा कारोबारमा कित्ताकाट र ऋणको कुरामा समस्या थियो । पैसा नघुम्दा समस्या भएको हो । खर्च गर्ने आत्मबल नभएको प्रष्ट छ ।
उनले भने, ‘लगानीकर्ताले ऋण लिन आँट गर्दैनन् । सबैले खर्च बढाउनु पर्छ । निजी क्षेत्रले तर्कसहितका सुझाव दिएको छ । हामी ती सुझाव मान्छौँ ।’
त्यस्तै, डिलर बढी भएको भन्दै मर्ज गर्नुपर्ने दिन आउने मन्त्री महतले बताए । अब ईभीको युग भएको भन्दै त्यसमा सरकारले सहयोग गर्ने बताए ।