• असार ३ २०८२, मंगलवार

छुट्टाछुट्टै भान्सा गरिएका भोजभतेर बहिष्कार गर्न तमानखोला गाउँपालिकाको आग्रह

भाद्र २४ २०८०, आईतवार

ढोरपाटन । बागलुङको तमानखोला गाउँपालिकाले सामाजिक भेद्भाव तथा छुवाछुतलाई शून्य बनाउने उद्देश्यले सामाजिक रुपमा हुने भोजभतेर एउटै हुनुपर्ने नीति बनाएको छ । गाउँपालिका जनप्रतिनिधि तथा सरकारी निकायका कर्मचारीले दुईवटा भान्छा हुने भोजभतेरमा सहभागी नहुने र नागरिकलाई पनि सामाजिक रुपमा हुने त्यस्ता भोजभतेरलाई बहिष्कार गर्न गाउँपालिकाले आग्रह गरेको छ ।

जिल्लाका सहर बजारदेखि गाउँसम्मका अधिकांश स्थानमा जातीय छुवाछुत र विभेदहुँदै आएकाले यसको अन्त्य गर्न अब सबै भोजभतेरमा एउटै भान्छा प्रयोग गर्ने निणर्य गरिएको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले जानकारी दिए । उनले समाजमा कोही पनि नागरिकले छुवाछुत र विभेद भोग्न नपरोस् भन्ने उद्देश्यले कार्यपालिका बैठकबाट सामाजिकरूपमा हुने भोजभतेरको भान्छा एउटै बनाउनुपर्ने निणर्य गरिएको बताए ।

‘सामाजिक विभेद् व्यवहार र भान्छाबाटै अन्त्य हुनुपर्छ, अब गाउँपालिकाभित्र हुने कुनै पनि भोजभतेरको एउटै भान्छा हुनुपर्छ, अहिलेसम्म दलितका लागि छुट्टै, जनतातिका लागि छुट्टै र ब्राह्मण क्षेत्रीका लागि छुट्टै भान्छा हुँदै आएको थियो। यो सामाजिक र जातीय विभेद् हो । यसको अन्त्यका लागि दुई वटा भतेर जहाँ हुन्छ, जसले गर्छ त्यसलाई कानुनी कारबाही गर्ने र त्यस्तो भतेरमा सहभागी हुने व्यक्तिलाई पनि कारबाही हुने नीति बनाएका छौं । समाजमा बस्ने हरेक नागरिक सम्मानका साथ बाँच्न पाउनुपर्छ भन्ने हाम्रो उद्देश्य हो,’ उनले भने ।

गाउँपालिकाले पहिलेदेखि नै सामाजिक विभेद र छुवाछुत अन्त्यका लागि जनचेतानामूलक कार्यक्रम गर्दै आएको भन्दै उहाँले भोजभतेरमा बढी विभेद् हुने गरेको पाइएपछि छुट्टाछुट्टै भोज गर्ने र सहभागी हुने दुवैलाई कारबाही गर्ने नीति ल्याइएको जानकारी दिए ।

‘सरकारले विसं २०६३ जेठ २१ मा छुवाछुतमुक्त राष्ट्र घोषणा गरे पनि त्यसको व्यवहारमा लागू हुन सकेको छैन । अहिले पनि समाजमा विवाह तथा विभिन्न सामाजिकरूपमा हुने भोजभतेर फरक-फरक हुँदै आएका छन्,’ उनले भने ।

उनका अनुसार आदिवासी जनजाति र दलित समुदायको बाहुल्यता रहेको तमानखोलामा गाउँपालिकाले बालविवाह न्यूनीकरण तथा सामाजिक विभेदको अन्त्यका लागि विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ ।