• असार ३ २०८२, मंगलवार

शसस्त्र प्रहरीले दार्चुलाको तिंकरमा स्थापना गर्यो बोर्डर आउट पोष्ट

भाद्र २३ २०८०, शनिबार

दार्चुला । सशस्त्र प्रहरी बल नेपालले चीनको सीमातर्फ दार्चुलाको व्याँस गाउँपालिका वडा नम्बर १ स्थित छयाँलेक तिंकरमा बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरेको छ ।

बीओपीको सीमा सुरक्षा विभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहालले शुक्रबार उद्घाटन गरेका छन् । दार्चुला सदरमुकामबाट करिव १ सय १२ किलोमिटर उत्तरतर्फ बीओपी स्थापना गरिएको हो । सशस्त्र प्रहरी बल, नेपाल नं ५० गुल्म छाङ्गरु दार्चुलाको मातहतमा स्थापना भएको बीओपी गुल्मबाट करिव ११ किलोमिटरको दूरीमा रहेको छ ।

यसअघि सशस्त्र प्रहरी बल नेपालले चीनतर्फ हुम्लाको हिल्सा, मुस्ताङको नेचुङ्ग, रसुवाको टिमुरे, सिन्धुपाल्चोकको तातोपानी र गुम्बा, दोलाखाको लामाबगर, संखुवासभाको किमाथाङका, ताप्लेजुङ्गको ओलाङचुङगोला सहित ८ ठाउँमा बीओपी स्थापना गरिसकेको छ । तिंकरमा स्थापना भएको बीओपीसहित चीनतर्फ ९ वटा र भारततर्फ २ सय ४३ गरी बीओपीको संख्या २ सय ५२ वटा पुगेको छ ।

तिंकरमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा रहने बीओपी स्थापनाका लागि हेलिकप्टरमा आवश्यक बन्दोबस्ती र जनशक्ति १३ भदौमा त्यसतर्फ पठाइएको थियो । सो बीओपीका लागि एउटा भवन निर्माण गरिएको छ । नयाँ स्थापना भएको बीओपीबाट छिमेकी मुलुकहरू भारतको नाभिडाङ्ग र चीनको ताक्लाकोट बजार नजिकै पर्दछ ।

कार्यक्रममा दार्चुला जिल्लाका प्रमुख जिल्ला अधिकारी किरण जोशी, सशस्त्र प्रहरी बल नेपाल नं ४३ रिजर्व गण कैलाली तथा नं ४४ गण दार्चुलाका गणपति, नं ५० गुल्म छाङ्गरुका गुल्मपति, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका जिल्ला स्थित प्रमुखहरूलगायतको उपस्थिति रहेको थियो ।