काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा मध्यावधि चुनाव गर्नुपर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।
उनले जनता र राष्ट्रलाई पर्ने अर्थको बोझका कारण पुनः निर्वाचन हुनु नहुने उल्लेख गरे । उनले आफ्नो पार्टीले तेब्बर बढी सिट ल्याउन सक्ने भए पनि देशको आर्थिक अवस्थालाई मध्यनजर गरी मध्यावधि चुनाव नभइ मिलेर सरकार बनाउनुपर्ने जनाए । उनले कोशी प्रदेश सरकार मध्यावधिमा नजानका लागि कि मिलेर जानुपर्ने, कि कसैलाई साथ दिनुपर्ने र कि चुनावमा जानुपर्ने विकल्पमात्रै रहेको बताए ।
उनले मध्यावधि चुनावमा जाँदा आफ्नो पार्टीले अहिलेको संख्याको तेब्बर बढी सिट ल्याउने डरले अन्य पार्टीहरु डराइरहेको दाबी गरे । अध्यक्ष नेपालले कोशी प्रदेश सरकार मध्यावधि चुनावमा नगई टिकाइरहन कुनै उपाय निकालिनुपर्ने बताए ।