• असार २ २०८२, सोमबार

परराष्ट्रमन्त्री साउद भन्छन्– चिनियाँ राजदूतको अभिव्यक्तिबारे अध्ययन गरिहेका छौँ

भाद्र २१ २०८०, बिहीबार

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले चिनियाँ राजदूतले दिएको अभिव्यक्तिबारे परराष्ट्र मन्त्रालयले अध्ययन गरिरहेको बताएका छन्। नेपालको भारत र चीन दुवै छिमेकीसँगको सम्बन्ध मित्रवत र घनिष्ठ भएको भन्दै मन्त्री साउदले यसलाई लिएर हुने अभिव्यक्ति गलत हुने टिप्पणी गरे।

‘नेपाल सबै अन्तर्राष्ट्रिय समुदायसँग मिलेर काम गर्न चाहन्छ। सहयोगका लागि नेपाल जहिले पनि सम्मान गर्न चाहन्छ,’ प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै मन्त्री साउदले भने, ‘यस विपरीत हुने गतिविधि नेपालका लागि मान्य हुँदैन।’

नेपालका लागि चिनियाँ राजदूत छन सोङ केही दिन अघि नेपाल र भारतबीचको विद्युत् व्यापारलाई लिएर टिप्पणी गरेका थिए। शनिबार काठमाडौंको एक होटलमा आयोजित कार्यक्रममा बोल्दै चिनियाँ राजदूत छनले भनेका थिए ‘भारतसँगको विद्युत् व्यापारबाट नेपालले घाटा बेहोरिरहेको छ। यस्तो अवस्थामा नेपाल कसरी आत्मनिर्भर बन्छ?’

उक्त अभिव्यक्तिलाई लिएर बिहीबार प्रतिनिधि सभाको अन्तराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा सांसदहरुले आलोचना गरेका थिए।