• असार २ २०८२, सोमबार

कोशी प्रदेशको मुख्यमन्त्रीको विश्वासको मत विवादसम्बन्धी रिटमा बहस सकियो, आजै फैसला आउने

भाद्र २१ २०८०, बिहीबार

काठमाडौं । कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाविरुद्ध परेको रिटमा बहस सकिएको छ।

सर्वोच्च अदालतका न्यायाधीशहरू सपना प्रधान मल्ल, डा कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा सुनुवाइ भएको थियो । अहिले फैसला लेखनको कार्य भइरहेकाले केही समयमा फैसला आउने बताइएको छ।

बिहीबार मुख्यमन्त्री थापाको तर्फबाट वरिष्ठ अधिवक्ता हरिहर दाहाल, खम्बबहादुर खाती, महादेव यादव, प्रेमबहादुर खड्का र सुनिल पोखरेल लगायतले बहस गरे ।

सर्वोच्चको फैसला आएसँगै कोशी सरकार कसको बन्छ भन्ने तय हुनेछ। नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले हालेको रिट निवेदनमा मंगलबार विपक्षीका तर्फबाट कानुन व्यवसायीहरूले बहस गरेका थिए।

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने क्रममा जेष्ठ सदस्य इस्राइल मन्सुरीले सच्च्याउने समयमा मत दिएपछि विश्वासको मत लिने कार्य विवादित भएको थियो। उपसभामुख अनुपस्थित भएको र एमालेका अध्यक्षमण्डलका अन्य व्यक्तिले पनि बिरामी बिदाको निवेदन दिएपछि सभा सञ्चालनको जिम्मेवारी पनि सत्ता पक्षको हातमा आइपरेको थियो।

सत्ता गठबन्धनभित्र रहेका दलहरुको ४७ सिट भएपछि सभामुखको जिम्मेवारी लिँदा एक मत कम हुने भएपछि सभाको अध्यक्षता गरेका मन्सुरीले पनि मत दिएका थिए। तर, यसअघि नै सर्वोच्चले सभामुखले कुनै दलको पक्षमा खुलेर सरकार बनाउनु कानुन सम्मत मान्न नसकिने भन्दै यसअघि थापाको मुख्यमन्त्री पद बदर गरिदिएको थियो।