• असार २ २०८२, सोमबार

सुशासन समितिको बैठकमा माओवादी सांसद राईले किरात संस्कृतिमा गोरु वध गर्ने चलन छ भनेपछि…

भाद्र १९ २०८०, मंगलवार

काठमाडौं । धरानमा सम्भावित साम्प्रदायिक दङ्गाको जोखिम टरेका बेला सांसदहरूको अभिव्यक्तिले फेरि माहोल भड्काउने डर बढेको छ । मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदले नै संस्कृति जोगाउन गाई-गोरुको बध गर्न पाउनुपर्ने गरी ऐन निर्माण हुनुपर्ने माग राखेका छन् ।

सत्तारूढ माओवादी केन्द्रकी सांसद दुर्गा राईले आफ्नो संस्कृति र धर्ममा गोरु अनिवार्य भएको बताइन् । उनले संविधानमा धर्मनिरपेक्ष राज्य लेखिएकाले किरात धर्मावलम्बीले आफ्नो संस्कृति मान्न पाउनुपर्ने धारणा राखिन् ।

‘मुन्धुममा हाम्रो गोरुलाई नचढाएर पितृ खुसी नै हुँदैन । त्यसमा पनि माले गोरु माले, बाछा पूजा गर्‍यो भने हामी किरातीहरूको मुन्धुममा साँच्ची नै पितृहरू खुसी हुने हुन्छ,’ बैठकमा उनले भनिन्, ‘यी विषयमा हामीले छलफल गर्नुपर्छ । सदनमा संविधानमा बर्जित गरेको कुरा उठाउन किन दिइन्छ ? अहिले हामी गोरुको हड्डी राखेर उधौली र उभौली पूजा गर्छौं । त्यो स्वतन्त्र हुन्छ कि हुँदैन ?’

उनले धर्मनिरपेक्ष राज्य भनेपछि सबै धर्मको समान अधिकार हुनुपर्नेमा जोड दिइन् । साथै उनले धरानमा आफूहरूलाई खेद्न खोजिएको भन्दै आपत्तिसमेत जनाइन् । उनले गोरु बध गर्ने कानुन निर्माण गर्नुपर्ने माग राखिन् ।

‘धर्मनिरपेक्षता भनेको के हो ? यो ऐन बनाउने ठाउँ र सुशासन बनाउने समिति बनाउने समिति भएकाले यो बारेमा विचार बहस हुनुपर्छ,’ उनले थपिन्, ‘धरानमा अहिले सद्भाव भड्किएको छ । राई लिम्बू मुर्दावाद भनेर हरेक ठाउँमा भाषण गरेर हिँडेको छ, नारा लगाइन्छ । अब हामी त्यहाँका राई लिम्बुहरू भाग्नुपर्ने हो ? यही हो, संविधानमा लेखेको कुरा ? पूजा गर्नेले पूजा गर्न पाउनुपर्छ र काटेर पूजा गरेर हाम्रो पितृलाई पूजा गर्न पाउनुपर्छ । यो ऐन यहाँबाट बनाउनुपर्छ भन्ने माग यहाँ राख्न चाहन्छु ।’

त्यसपछि बोलेका सांसदहरू सरिता प्रसाईं र अम्बिका बस्नेतले राईको अभिव्यक्तिलाई लिएर आपत्ति जनाए । उनीहरूले सांसदजस्तो महत्वपूणर् पदमा पुगेकाहरूले साम्प्रदायिक द्वन्द्व बढाउने काम गर्न नहुने बताए ।

सत्तारूढ कांग्रेस सांसद रहेकी प्रसाईंले धर्मको राजनीति गर्दा छिमेकी देशको हालत हेर्न अनुरोध गरिन् । उनले सबै धर्मलाई समान अधिकार भएको भन्दै धैर्य र संयमता अपनाएर अभिव्यक्ति दिन आग्रह गरिन् । ‘बीपीले त्यो बैलै धार्मिक र जातीय आन्दोलन नहोस् भनेर सरकारनै समावेशी बनाउनुपर्छ भन्नुभएको थियो । जातीय र धार्मिक कुरा गर्नु राम्रो होइन । संयम भएर जानुपर्छ । हामीले मणिपुरमा हेरेकै छौँ नि,’ उनले भनिन्, ‘सबैले धर्म मान्न पाइन्छ । तर, उत्तेजित अभिव्यक्ति दिने सबैले आफ्नो ठाउँमा नबसे मुलुक कता जान्छ ? हामी सांसदले यो ख्याल नगरेर हुन्छ । सबैले यो विषयमा सोच्नुपर्छ ।’
यस्तै, सांसद अम्बिका बस्नेतले पनि मिलेर बसेको समाज भाँडिन नहुने उल्लेख गरिन् । उनले धर्म निरपेक्षता भन्दैमा विज्ञापन गर्न जरुरी नरहेको पनि स्पष्ट पारिन् ।

‘संविधान बनाउँदा धर्मनिरपेक्ष लेख्यौँ । हिजोदेखि मिलेर बसेको छौँ । सौहार्दता कायम राख्नुपर्छ । आज मात्र धर्म चेन्ज गरेर वातावरण सिर्जना गरेको होइन । विज्ञापन गर्ने वातावरण कसरी आयो ?,’ न्यौपानेको प्रश्न थियो, ‘जात र धर्मको नाममा विभाजन भएर के हुन्छ ? त्यसैले यो विषयमा सांसदहरूले गम्भिर भएर सौचौँ ।’ अर्की सांसद ईश्वरी देवी न्यौपानले पनि धर्म र जातको नाममा सद्भाव भड्काउने काम भइरहेकोतर्फ सचेत गराइन् ।