• फाल्गुन २६ २०८२, मंगलवार

युक्रेन युद्धः ‘हतियारबारे छलफल गर्न किम रुस जाने’

भाद्र १९ २०८०, मंगलवार

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन यो महिना रुस पुगेर राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटघाट गर्ने तयारी गरेको एक अमेरिकी अधिकारीले जनाएका छन् ।

बीबीसीमा प्रकाशित समाचारअनुसार दुई नेताबीच उत्तर कोरियाले रुसलाई युक्रेन युद्धका लागि हतियार सहयोग गर्ने विषयमा छलफल हुन सक्ने ती अधिकारीले जानकारी दिएका हुन् । दुई नेताबीच कहाँ भेट हुन्छ भन्ने चाहिँ अझै खुलेको छैन ।

अमेरिकाका मिडियाहरूले प्राथमिकताका साथ यो समाचार प्रकाशित गरे पनि उत्तर कोरिया वा रुसले यसबारे कुनै प्रतिक्रिया दिएको छैन । न्युयोर्क टाइम्सका अनुसार किम बख्तरबन्द रेलमा रुसमा पुग्नेछन् ।

यसअघि ह्वाइट हाउसले पनि दुई देशबीच हतियारबारे छलफल तीव्र रूपमा अघि बढेको बताएको थियो । राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले रुसका रक्षामन्त्री सर्गेई सोइगुले हालै उत्तर कोरियाको भ्रमण गर्दा प्योङयाङलाई हतियार बेच्न आग्रह गरेको दाबी गरेका थिए ।

पुटिन र किमबीच दुई पक्षीय सहयकार्य थप बढाउनका लागि पत्रहरू आदानप्रदानसमेत भएको किर्बीको भनाई थियो । उत्तर कोरियाले रुसलाई हतियार बिक्री गरे अमेरिकाले थप प्रतिबन्ध लगाउने उनले चेतावनी समेत दिएका थिए ।
–बीबीसी