• आश्विन १३ २०८१, आईतवार

बच्चाहरुको झुठो बोल्ने बानी यसरी बदल्नोस्

भाद्र १६ २०८०, शनिबार

एजेन्सी । कतिपय बच्चाहरुको झुठो बोल्ने बानी हुन्छ । आफ्नो बच्चाको ढाँट्ने बानी सुधार्न निक्कै मुस्किल परिरहेको हुन्छ । बच्चाले झुठ बोल्छन् भन्ने कुरामा तपाईले आश्र्चय नमान्नु होला । यद्यपि, उनीहरुमा कल्पनाशिलता भने धेरै नै हुन्छ । कल्पनाशिलतामा हामी सबै उनीहरुको काल्पनिक कथाको एउटा पाटो हुने गर्छौं । बच्चाले सहज रुपमा सही र गलत छुट्याउन सक्दैनन् । त्यसैले चाहेर पनि उनीहरुको धेरै कुरा झुठो हुने गर्छ । यस्ता समस्याबाट छुटकारा पाउनका लागि अपनाउनुहोस् केही उपाय:

कुराकानी गरेर बच्चालाई सम्झाउनुहोस्
झुठो कुरो गरिरहेको छ भन्ने थाहा पाउनु भयो भने यस्तो झुठ बोलिरहनु आवश्यक नै छैन भन्ने कुरा बुझाउनुहोस् । झुठ बोल्दा पनि आफुलाई विश्वास गरेर बुबा÷आमाबाट धेरै माया पाउँछु भन्ने बच्चामा भ्रम हुन सक्छ । यस्तो झुठ कहिल्यै साँचो हुन नसक्ने कुरा राम्रोसँग बुझाउन आवश्यक हुन्छ ।

सम्मान गर्न सिक्नुहोस्
अरु मानिसको अगाडि बच्चालाई लज्जित हुने खालको व्यवहार नदेखाउनुहोस् । उसका साथीभाइ तथा परिवारको अगाडि उसको सम्मानमा ठेस लाग्ने व्यवहार गरिनु हुँदैन । सबैको अगाडि तपाईंले आफ्नो बच्चालाई ख्याल नगरेको जस्तो नगर्नुहोला । उसँग सम्मानपूर्वक कुराकानी गर्नुहोस् ।

बच्चाले गर्ने कुरालाई बेवास्ता नगर्नुहोस्
बालबालिकाले गर्ने सानो–सानो झुठ कुरालाई बेवास्ता नगर्नुहोस् । जस्तो कि तपाईंलाई खुशी पार्न बच्चाले बुबा/आमा मैले आज धेरैबेरदेखि पढी रहेको छु भन्छन् । यस्तो अवस्थामा तपाईंले उसको कुरालाई पत्याइ हाल्ने भन्दा पनि उसले झुठ बोलिरहेको छ भन्ने ठम्याउन आवश्यक छ । र, उसको झुठलाई सुधार्न झुठो कुरो कुनै पनि हालतमा झुठै हुन्छ भन्ने कुरा सम्झाउनु पर्छ ।

अपेक्षाबाट बच्नुहोस्
जब अभिभावकले आफ्नो बालबच्चाबाट बढीभन्दा बढी अपेक्षा राख्छ भने उसले झुठ बोल्न थाल्छ । आफ्नो बच्चा नाच्न, गाउन, पढ्न, लेख्न तथा अन्य सबै कार्यमा तेज होस् भन्ने बढी अपेक्षा राख्नु गलत हुनेछ । र, यी सब कार्य सम्भव पनि हुने छैन । उसको असफलताप्रति कहिल्यै हतास नहुनुहोला ।

सकारात्मक सोच प्रस्तुत गर्नुहोस्
यदि बच्चाले गरेका कुनै पनि प्रयास असफल भयो । र उक्त कुरा उसले साँचो रुपमा बताउँछ भने त्यसलाई सकारात्मक रुपमा लिनुहोस् । उसको असफलता अथवा गल्तिलाई लिएर शारीरिक तथा मानसिक यातना दिने, कुट्ने नगर्नुहोस् । उसले गर्ने साँचो व्यवहारलाई पुरस्कृत गर्ने बानी बसाल्नुहोस् ।

अतिशयोक्तिलाई सम्झनुहोस्
साना बच्चा टेलिभिजनमा कार्टुन हेर्छन् या कथाहरु सुन्छन् । जसका कारण उनीहरुमा अतिशयोक्ति हुन सक्छ । कुनै पनि कुरालाई बढाइ चढाइ गरेर प्रस्तुत गर्ने हुन्छन् । यस्तो कुरा मनोरञ्जनात्मक त हुन्छन् । तर, यी कुरा यथार्थ तथा काल्पनिक कति हुन् उनीहरुलाई बताउन आवश्यक हुन्छ ।