काठमाडौँ । ६० किलो ७ सय १६ ग्राम सुन प्रकरणमा पक्राउ गरिएका दावा छिरिङले नक्कली कागजात पेस गरेर नेपाली नागरिकता लिएको पुष्टि भएको छ । तिब्बतीयन मुलका बेल्जियन नागरिक छिरिङले निमा तामाङको नाममा जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट नागरिकता लिएको छानबिन समितिको ठहर छ ।
नागरिकताबारे छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको थियो । उप–सचिव कृष्णबहादुर कटुवालको नेतृत्वमा बनेको समितिले दावाको नागरिकता छानबिन रिपोर्ट बुझाएको छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई छानबिन रिपोर्ट बुझाएको समितिका एक सदस्यले बताए ।
ठमेलस्थित ‘होटल भियना’को सञ्चालकसमेत रहेका छिरिङले काभ्रेको नमोबुद्ध नगरपालिका–११ घर भएका पेमा तामाङलाई बुबा बनाएर नागरिकता लिएको भेटिएको छ । नागरिकता लिनका लागि वडाअध्यक्ष सरस्वती पण्डित कार्कीले सिफारिस गरेको कागजात भेटिएको छ ।
तर, छानबिन गर्दा सरस्वती पण्डित कार्की नाम गरेको वडाअध्यक्ष नै भेटिएन । उपसचिव कटुवाल नेतृत्वको समितिले दावाको औंठाछाप परीक्षण गरेको छ । नेपाली नागरिकताको आधारमा लिएको पासपोर्ट र बेल्जियमबाट नेपाल आउँदा त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा उनले दिएको औंठाछाप मिलेको छानबिनमा संलग्न एक जना अधिकृतले बताए ।
२०७४ पुस २० मा उनले काभ्रेबाट लिएको नागरिकता खारेज गर्न मन्त्रिपरिषदमा प्रस्ताव लैजाने तयारी भइरहेको गृह मन्त्रालयका एक उच्च अधिकृतले जानकारी दिए । दावाको नागरिकता अनुसन्धान गर्दा अर्का एक जना चिनियाँ नागरिकले पनि यामाङ तामाङको नामबाट नागरिकता लिएको भेटिएको छ ।
दावाले लिएको नागरिकतामा हस्ताक्षर गर्ने अधिकृत र नासुसँग समितिले बयान लिएको थियो । छानबिन समितिले नागरिकता वितरणमा संलग्न कर्मचारीहरुलाई कारबाही गर्न सिफारिस गरेको छ ।
हङकङबाट तस्करी गरेर ल्याएको ६० किलो ७ सय १६ ग्राम सुन प्रकरणमा पक्राउ गरिएका ५ जना चिनियाँ नागरिकसँग नेपाली नागरिकता भेटिएको छ । ४ जनाले काभ्रेबाट र एक जनाले काठमाडौँबाट नागरिकता लिएका हुन् ।