• मंसिर ११ २०८१, मंगलवार

जनै पूर्णिमा र रक्षा सुत्रको महिमा

भाद्र १४ २०८०, बिहीबार

हरेक वर्ष श्रावण शुक्ल पूर्णिमा मान्ने सन्दर्भमा जनै पूर्णिमा, ऋषि तर्पणी र रक्षा बन्धन पनि मान्ने गरिन्छ । श्रावण महिनामा पर्ने भएकोले यो चाडलाई श्रावणी पनि भन्ने गरिन्छ । त्यस्तै यो दिन क्वाँटी खाएर मनाइने भएकोले यो दिनलाई क्वाँटी खाने पूर्णिमा पनि भन्ने गरिन्छ । यो चाडलाई सबै धर्मालम्वी र जातिका मानिसहरूले समान रुपले मान्ने भएकोले यो चाडलाई धार्मिक समन्वयको चाडका रुपमा लिइन्छ ।

हिन्दु, बौद्ध, शाक्त, वैष्णव सबैले संयुक्त रुपमा यो चाडमा सबैले नौथरी गेडागुडी : ठूलो केराउ, सानो केराउ, गेडा मास, मस्याम, भुटी बोडी, भटमास, सिमी, चना, बकुला आदि राखी क्वाँटी बनाएर खाने चलन छ । यो दिन विभिन्न स्थानमा बौद्धहरुले बहालहरुमा भगवान बुद्धका मूर्तिहरु, पौभाः र पुराना बौद्धकालीन यस्त्र, सर सामान र अन्न समेत प्रदर्शन गर्ने चलन छ ।

यो पूर्णिमाका दिन उपत्यकाका ज्यापु किसानहरुले खेतमा गई भ्यागुतालाई भात खुवाउने गर्छन् । त्यसैले यो दिनलाई भ्यागुतालाई भात खुवाउने दिनका रुपमा पनि लिइन्छ । यो पूर्णिमाका दिन हिन्दु धर्मावलम्बीहरुले सबेरै उठेर गोबर, खरानी वा सेतो माटो जिउमा दलेर नुहाएर सप्तर्षीहरुलाई पूजा गर्ने र तर्पण गर्ने भएकोले यस दिनलाई ऋषि तर्पणी भनि भन्ने गरिन्छ । तागाधारीहरुले यो दिन विधिपूर्वक बनाइ राखेको जनै र रक्षा सूत्रलाई विधिपूर्वक मन्त्र पढेर गुरु वा पुरोहितबाट श्रद्धा, भक्ति भावले जनै लगाउने र हातमा डोरो रक्षा सूत्र बाँध्ने गर्छन् ।

जनै पूर्णिमाका दिन क्वाँटी दान गरेर पूण्य सञ्चय गरी आफूले पनि पौष्टिक तत्व भएको क्वाँटी खाएर शरीरलाई स्वस्थ्य पारेर बलियो बनाउनु पर्छ भनि हाम्रा पुर्खाहरुले यो चलन चलाएका हुन् । यो समय भनेको असार, साउन महिना, त्यसमा पनि दिन दिनभर रोपाइँ गरेर शरीरमा लागेको सर्दी र कमजोरीलाई हटाउन हाम्रा पुर्खाहरुले यो क्वाँटी खाने चलन बनाएराखेका हुन् । तराईतिर भने यो दिन दिदीबहिनीहरुले आफ्ना दाजुभाईहरुलाई राखी बाँधीदिने चलन छ ।

यो चलनले दिदीबहिनी र दाजुभाईहरु बीचको सम्बन्धलाई अझ प्रगाढ बनाई दिन्छ । रक्षाबन्धनको विषयमा सुन्नमा आएका किंवदन्ती अनुसार एक पटक देवता र दैत्यहरुको बीचमा १२ वर्षसम्म युद्ध भएछ । तर त्यस युद्धमा न दैत्यहरुले जित्न सके न देवताहरुले नै जित्न सके । युद्ध गर्दा गर्दा देवताका राजा इन्द्र पनि थाकेछन् ।

दैत्यहरुलाई किन हराउन सकिएन ? भनि इन्द्र आश्चर्यमा परेछन् । के गर्दा जित्न सकिन्छ भन्ने विचारले इन्द्र आफना गुरु बृहस्पति कहाँ गएर उपायका लागि सल्लाह लिए । हामीले जति युद्ध गर्दा पनि दैत्यहरुलाई हराउन सकेनौं हजुरले कृपा गरेर हामीले जित्न सक्ने उपाय बताई दिनुहोस् । मैले के गरेमा युद्ध जित्न सफल हुनेछ भनि इन्द्रले गुरु बृहस्पतिसँग अनुनय विनय गर्छन् ।

अनि गुरु बृहस्पतिले भन्नुहुन्छ, ‘हे इन्द्र, सबै देवताहरु साथमा लिइ इन्द्रणीकहाँ गएर देवताहरु सबैलाई र आफूलाई पनि रक्षाका लागि व्रत गर्नु पर्यो भनेर इन्द्राणीलाई व्रत गराउनु । जव व्रत समापन हुन्छ, त्यस समयमा जुन धागो प्राप्त हुन्छ त्यही धागोले इन्द्रको दाहिने हातमा बाँधी दिनाले तपाईंहरुको अवश्य नै युद्धमा विजयी हुनेछ ।’

गुरु बृहस्पतिको यस्तो आज्ञा पाए पछि सम्पूर्ण देवता सहित इन्द्राणी कहाँ गएर इन्द्रले सबै कुरा बताउँछन् । इन्द्राणीले पनि सम्पूर्ण देवताका रक्षाका लागि विधिपूर्वक व्रत बस्छिन् । व्रत सकिने बित्तिकै इन्द्रको दाहिने हातमा रक्षा सूत्र धागो बाँधेर निधारमा टिका, प्रसाद लगाई दिँदै भन्नुहुन्छ,‘निर्धक्क भएर युद्धमा जानुहोस् अवश्य पनि विजयी हुनु हुनेछ ।’ यसरी इन्द्रले रक्षा सूत्र बाँधेर युद्धमा गए । र दैत्यको बीचमा युद्ध भयो । यसपटक इन्द्रले यति पराक्रम र साहसपूर्वक युद्ध लड्छन् कि दैत्यहरु नै चकित हुन्छन् । अन्ततः देवताहरुकै विजय हुन्छ । उही समयदेखि विजयको प्रतिकको यो पर्व मनाईंदै आइरहेको हो भनिन्छ ।

त्यस्तै अर्को किंवदन्ती अनुसार प्राचीनकालमा श्रावण महिनामा ठूला ठूला ऋषिहरु गाउँ गाउँ र नगरमा गएर मानिसहरुमा प्रेम, सद्भाव र आत्मीयता फैलाउन उपदेश दिन जाने गर्दा रहेछन् । श्रावणी अर्थात् जनै प्रर्णिमाका दिन रक्षाबन्धन गर्ने दिन ती ऋषिहरुले विभिन्न गाउँमा गएर ठूला ठूला यज्ञ गरेर गृहस्थी मानिसहरुलाई त्यस यज्ञमा भाग लिन लगाउने र भक्तजनहरुले पनि अति नै श्रद्धा राखेर ऋषिबाट गुरु मन्त्र लिने गर्दा रहेछन् ।

ऋषिहरुले पनि मन्त्र दिनु अघि मानिसहरुले सत्य, प्रेम र सद्भावमा सधै बस्नुपर्ने उपदेश दिँदा रहेछन् । यसका साथै भक्तजनहरुले पनि गुरुको उपदेश जीवनभरि पालना गर्नेछु भनि सत्य बाचा बोल्दा रहेछन् । त्यही बाचा बन्धनलाई सधै पालना गर्छु भनि सम्झना गराई राख्न नै हरेक वर्ष ऋषिहरु मानिसहरुका घर घरमा गई हातमा रक्षा सूत्र बाँधी दिने र जनै धारण गरि दिने चलन रहेको हो ।

दानवहरुका महाबलि राजालाई जुन सुत्रले बाँधिदिए, त्यही सुत्रले बाँधि राख्न रक्षासूत्र बाँधि दिएको हुँ । हे रक्षा सूत्र तिमी पनि अचल भइ बस्नु भनि रक्षा सूत्र बाँधेका यजमान सत्यमा अचल भएर बस्छ भन्ने अर्थमा रक्षा सूत्र बाँधिदिने हो । रक्षा सूत्र बाँधिदिँदा यस्तो मन्त्र पढ्छन् ।
येनबद्धो बली राजा दान मिन्द्रो महाबल ।
तेन त्वां प्रतिबध्यानागि रक्षेमां चलमा चल ।
त्यस्तै जनै लगाई दिंदा पनि यसरी मन्त्र पढ्ने गरिन्छ ।
आयुष्य मग्यं प्रतिमुञ्च भुभुं यज्ञोपवीतं बलमस्तुतेज ।
ज्ञोपवीतं परमं पवित्रं प्रजापतेर्यत्सहजं पुरस्तात ।
आज सम्म पनि यो परम्परा चल्दै आइरहेको छ । यही परम्परा अनुसार ब्राम्हण वा पुरेतले यजमानको हातमा रक्षा सूत्र बाँधि दिने र पुरानो जनै फेरेर नयाँ जनै लगाई दिन्छ । यजमान सधै सत्यतामा बसोस् भनि गुरु पुरेतहरुले आशिर्वाद दिइरहन्छन् । सधै यजमानको जीवन सुखमय भएर जीवन सफलता पूर्वक अघि बढिरहोस् भनि पुरेतहरुले आशिर्वाद दिइरहन्छन् ।