• असार १ २०८२, आईतवार

नुवाकोटको लप्सीफेदीमा रहेको एमसीसीको २०६ रोपनी जग्गा कब्जा

भाद्र १३ २०८०, बुधबार

काठमाडौं । अमेरिकी एमसीसी परियोजनाको काम हुने भनिएको नुवाकोटस्थित लप्सीफेदीमा रहेको २०६ रोपनी जग्गा नियन्त्रण गरिएको छ । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीले स्थानीय जनताको सहभागितामा काठमाडौंको जरसिंह पौवा (लप्सीफेदी)मा एमसीसी परियोजनाले अधिग्रहण गरेको २०६ रोपनी जग्गा कब्जा गरेको हो ।

स्थानीय जनताको बाक्लो सहभागितामा कब्जा गरिएको उक्त जग्गामा क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताहरुले हँसिया हथौडा अंकित झण्डा गाडेका छन् । लप्सीफेदीमा हिजो स्थानीय युवाहरुले एमसीसी परियोजना खारेज गर, गो ब्याक एमसीसीको नारा लगाउँदै मशाल जुलुस प्रदर्शन गरेका थिए ।

एमसीसीका विरुद्ध भित्ते लेखन र मशाल जुलुस निकालेको आरोपमा क्रान्तिकारी कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश ३ का सहसंयोजक सुरेश श्रेष्ठ, सो पार्टीका महाधिवेशन आयोजक समिति सदस्यद्वय केदार खतिवडा र प्रभात भट्टराईलाई प्रहरीले गिरफ्तार गरेको थियो ।

चौतर्फी दबाबपछि हिजो बेलुका ८ बजे साँखु प्रहरी कार्यालयबाट रिहा गरिएको थियो । यसअघि पनि लप्सीफेदीका जनताले एमसीसी परियोजनाले लप्सीफेदीमा बनाउन लागेको ट्रान्समिसन लाइन अन्यत्र सार्न एक महिना लामो आन्दोलन गरेका थिए ।

विद्युत प्राधिकरणले जग्गा अधिग्रहण गरेको भएपनि त्यो जग्गा एमसीसी परियोजनाका लागि ट्रान्समिसन लाइन बनाउन प्रयोग गर्ने भन्ने थाहा पाएपछि स्थानीय जनताले लामो समयसम्म आन्दोलन गरेका थिए ।

आजबाट सिंहदरबारमा एमसीसी परियोजना कार्यान्वयनको दिनगन्ती सुरुको घोषणाहुँदै गर्दा लप्सीफेदीमा भने एमसीसी परियोजनाकै जग्गा कब्जा गरिएको छ । अन्य परियोजना स्थलका जनता पनि आन्दोलनमा आएको समाचारहरु प्राप्त भइरहेका छन् ।