• असार १ २०८२, आईतवार

संसदीय समितिका सभापति पदका लागि कांग्रेसमा मारामार

भाद्र १० २०८०, आईतवार

काठमाडौं । नेपाली कांग्रेसभित्र संसदीय समितिका सभापतिको भागबण्डालाई लिएर तिव्र विवाद देखिएको छ । सभापति शेरबहादुर देउवाले सभापति चयनअघि सल्लाह नगरेको र आफूखुसी व्यक्ति छनोट गरेका कारण आफ्नो तर्फबाट कसैले पनि सभापतिमा नाम नदिने संस्थापनइतर समूहले जनाएको छ ।

सत्ता गठबन्धनको भागवण्डामा कांग्रेसले राज्य व्यवस्था तथा सुशासन, संसदीय सुनुवाइ, अर्थ, कृषि सहकारी तथा प्राकृतिक स्रोत गरी चार समितिको सभापति पाएको थियो । चारमध्ये दुई सभापति आफ्नो पक्षले पाउनुपर्ने अडान संस्थापनइतरले राख्दै आएको छ । केही दिनअघि सभापति देउवालाई भेटेका संस्थापनइतरका नेता डा.शेखर कोइरालाले दुई जना सभापति आफ्नो तर्फबाट हुनुपर्ने कुरा राखेका थिए ।

महामन्त्री गगन थापाले दुई जना आफ्नो तर्फबाट नभए अस्वीकार गर्नुपर्ने शेखरलाई सुझाव दिएका थिए । तर सभापति देउवाले एउटा समितिको सभापति मात्र शेखर गगन समूहलाई दिन चाहेका छन् । उनले संसदीय सुनुवाइ समितिको सभापति शेखर–गगन समूहलाई छुट्याएका थिए । तर शेखर–गगन समूहले नाम दिन अस्वीकार गरेको छ ।

‘जुनसुकै गुटबाट गरेपनि हुने पार्टीकै मान्छे हो । कस्तो मान्छे गर्ने, कसरी गर्ने ? व्यक्तिको नाममा गुटको भागबण्डा होला’, संस्थापनइतरका एक नेताले भने, ‘कुन समिति लिने भन्ने कुरामा नेताहरुसँग सल्लाह नै गर्नु नपर्ने हो ?’

अरु समिति सभापतिको नाम टुंगो लगाइसकेपछि बैठक बस्नुको औचित्य नहुने उनले बताए । संस्थापन पक्षले राज्य व्यवस्था तथा सुशासनको सभापतिमा रामहरि खतिवडा, संसदीय सुनुवाइमा जीवन परियार, अर्थमा सन्तोष चालिसे, कृषि सहकारी तथा प्राकृतिक स्रोतमा आरजु राणाको नाम सार्वजनिक गरेको थियो । यी मध्ये परियार संस्थापनइतर समूहका हुन् । दुबै समूहको हुने गरी चालिसेलाई समेटिएको देउवा पक्षको दाबी छ । तर शेखर गगन समूह यसलाई स्वीकार्न तयार छैन । दुई जना आफ्नो पक्षबाट हुनुपर्ने र सभापति हुने व्यक्तिको क्षमता हेरेर छनोट गर्नुपर्ने नेताहरुको अडान छ ।

सभापति देउवाले छुट्याइदिएको समितिमा लुरुलुरु नजाने इतर पक्षका नेता बताउँछन् । ‘संसदीय सुनुवाइ समिति नाम मात्रैको समिति हो । त्यसको बैठक औपचारिकताका लागि मात्रै बस्छ’ संस्थापनइतका नेता भन्छन्, ‘त्यो समितिको सभापतिको काम गाडी चढ्नेबाहेक केही हुन्न ।’ समिति सभापतिका लागि सोमबार निर्वाचन समय तोकिएको छ । आइतबार उम्मेदवारको दर्ताको कार्यतालिका छ ।