• जेष्ठ ९ २०८३, शनिबार

बागलुङमा १२ घर पहिरोको जोखिममा

भाद्र ९ २०८०, शनिबार

काठमाडौं । बागलुङमा दर्जन बढी घर पहिरोको जोखिममा परेका छन् । बागलुङ नगरपालिका–६ मैदानका १२ घर र सिमका उपल्लोबारीका करिब १२ घर पहिरोको जोखिममा परेका हुन् । वर्षाका कारण पहिरोले घर भत्किँदा मैदानका दुई परिवार पूर्णरुपमा विस्थापित भएका छन् ।

वर्षाले घर भत्किँदा स्थानीय जमुना आचार्य र नारायणप्रसाद सापकोटाको परिवार विस्थापित भएको बागलुङ नगरपालिका–६ का वडाध्यक्ष रुद्रबहादुर केसीले बताए । 

घर भत्किँदा नारायणको १० लाख रुपैयाँ बराबरको क्षति भएको छ भने जमुनाको ६ लाख बराबरको क्षति भएको छ । नारायणको अन्यत्र घर बनाउने जग्गासमेत नभएकाले थप समस्यामा रहेको वडाध्यक्ष केसीले बताए । विस्थापित परिवारको बारेमा जिल्ला दैविक प्रकोप कार्यालयमा सिफारिस गरिएको वडाध्यक्ष केसीले बताए ।

‘पहिरोले दुई परिवारले घर छोडेर आफन्तकोमा आश्रय लिएका छन्, अन्य घर पनि भत्किन थालेका छन्, उनीहरुलाई सुरक्षित स्थानमा सार्नका लागि पहल गरेका छौँ’, अध्यक्ष केसीले भने, ‘बर्खा अझै बाँकी छ, वर्षा भइरहेको हुँदा व्यवस्थापनमा पनि समस्या भइरहेको छ, दुई दर्जन बढी घर अहिले जोखिममा छन्, यसरी नै वर्षा भई रह्यो भने अझै अरु घर पनि जोखिममा पर्ने सम्भावना बढेको छ ।’