काठमाडौं । चीन, रुस र उत्तर कोरियाका हाइपरसोनिक क्षेप्यास्त्रबाट बच्नका लागि अमेरिका र जापानले संयुक्त रूपमा ‘इन्टरसेप्टर’ हतियार बनाउने भएका छन् ।
जापानको योमिउरी सिमबोन पत्रिकाको समाचारका अनुसार आगामी हप्ता अमेरिका र जापानले ‘इन्टरसेप्टर’ हतियार निर्माण सम्झौता भएको घोषणा गर्नेछन् । गत जनवरीमै जापान र अमेरिकाले चीन, रुस र उत्तर कोरियाका हाइपरसोनिक क्षेप्यास्त्र खसाउने हतियार बनाउने सहमति जनाएका थिए ।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले त्यसबेला नै जापानी विदेशमन्त्री र राष्ट्रिय सुरक्षा सल्लाहकारसँग छलफल गरेका थिए । हाइपरसोनिक क्षेप्यास्त्र ध्वनीको गतिभन्दा ५ देखि १० गुणा तीव्र हतियार हो । अन्य क्षेप्यास्त्रलाई इन्टरसेप्टर क्षेप्यास्त्रले सजिलै पछ्याएर आक्रमण गर्दै असफल बनाउन सक्छ । तर, हाइपरसोनिक क्षेप्यास्त्र ज्यादै तीव्र हुन्छ ।
उदाहरणका लागि इन्टरसेप्टर क्षेप्यास्त्रले ब्यालिस्टिक क्षेप्यास्त्रलाई सजिलै खसाउन सक्छ, किनभने ब्यालिस्टिक क्षेप्यास्त्रले आफ्नो बाटो तय गरेपछि त्यसले मार हान्न उड्छ । बाटो थाहा पाउँदै इन्टरसेप्टरले यस्ता क्षेप्यास्त्र खसाउन सक्छ तर हाइपरसोनिक क्षेप्यास्त्र तय गरिएको बाटो त उड्छ नै त्यसले बाटो पनि परिवर्तन गर्न सक्छ ।
जसका कारण तीव्रतासँगै बाटो परिवर्तन गर्न सक्ने क्षमताको हाइपरसोनिक क्षेप्यास्त्र खतरनाक मानिन्छ । अमेरिकाको केन्द्रीय खुफिया एजेन्सीका अनुसार चीन र रुससँगै उत्तर कोरिया हाइपरसोनकि क्षेप्यास्त्र विकासमा निकै अगाडि छन् । रुसले यसअघि आफूसँग विश्वमै सबैभन्दा शक्तिशाली हाइपरसोनिक क्षेप्यास्त्र किन्जल्स भएको बताएको थियो । चीनसँग डीएफ हाइपरसोनिक क्षेप्यास्त्रका धेरै प्रकार छन् । उत्तर कोरियासँग पनि परमाणुसँगै हाइपरसोनिक क्षेप्यास्त्र भएको बताइन्छ ।
यी तीनै राष्ट्रसँग अमेरिकाको सम्बन्ध सुमधुर छैन तर चीन, रुस र उत्तर कोरिया एक मोर्चामा लामो समयदेखि खडा छन् । अमेरिकाले सधै यी तीन राष्ट्रको विरोध गर्दै आएको छ । यसबीचमा अत्याधुनिक हतियारमा शक्तिशाली बन्दै गएका यी देशहरूको हतियार खसाउने हतियार निर्माणमा अमेरिका अग्रसर बनरिहेको हो ।