• मंसिर १४ २०८१, शुक्रबार

सीमा नाकाबाट क्वीन्टलका क्वीन्टल सुन भारत जाँदा भारु पैसा सस्तो भयो : पूर्व गर्भनर खतिवडा

श्रावण ३१ २०८०, बुधबार

काठमाडौं । पूर्वअर्थमन्त्री युवराज खतिवडाले सीमा नाकाबाट ठुलो परिमाणमा सुन भारत जाँदा भारतीय रुपैयाँ सस्तिएको बताएका छन् । बुधबार एमालेको उद्योग, वाणिज्य तथा आपूर्ति विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सुन तस्करीका कारण नेपालीको तुलनामा भारतीय रुपैयाँ सस्तो भएको बताएका हुन् ।

‘भारु सस्तो हुनु भनेको क्विन्टलका क्विन्टल सुन भारततिर तस्करी हुनु हो । यो कसलाई थाहा छैन,’ उनले भने, ‘म गभर्नर हुँदा नेपाली १०० रुपैयाँसँग भारतीय रुपैयाँ १६५/१६० भन्दा तल ल्याउन सकेको थिइनँ । अहिले १५५/१५० छ । यो सुन तस्करीले गर्दा हो ।’

अहिले व्यापार घाटा घटेको देखेर सरकार खुसी भएको तर यथार्थमा आर्थिक विकास नै नभएर व्यापार घाटा घटेको उनको भनाइ छ । सरकार सीमित घरानालाई पोस्न लागेको भन्दै उनले अर्थतन्त्र चलायमान बनाउने उद्योगीलाई अहिलेको सरकारले प्रतिबन्ध लगाएको आरोप लगाए ।

‘यो सरकारले व्यावसायिक विश्वास घटायो । व्यावसायिक विश्वास घटाउनु हुँदैन । व्यावसायिक क्षेत्रमा अराजक प्रवृत्ति मौलाएको छ । अराजक तत्वलाई कन्ट्रोल गरियोस्,’ उनले भने, ‘व्यवसायीलाई कालो मोसो दलिएको छ । सरकार मौन छ । कालो अर्थतन्त्र जबसम्म स्थापित हुन्छ, स्वच्छ व्यवसाय गर्ने विस्थापन हुन्छन् ।’

त्यस्तै, उनले सेयर बजारको चिन्ता धितोपत्र बोर्डले लिनुपर्ने पनि बताए । जग्गा कित्ताकाटले अर्थतन्त्र चलायमान नहुने पनि उनको धारणा छ ।