• मंसिर १४ २०८१, शुक्रबार

दोलखाका पूर्व प्रमुख जिल्ला अधिकारी ५ वटा अभियोग सहित भ्रष्टाचारी ठहर

श्रावण ३० २०८०, मंगलवार

काठमाडौं । सेवाग्राहीलाई धम्क्याएर घुस लिएको आरोप लागेका उपसचिव खगेन्द्र रिजाल भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतले रिजाजलाई पाँचवटा अभियोगमा दोषी ठहर गरेको हो ।

रिजाल अख्तियारमा सहायक प्रवक्ता भइसकेका व्यक्ति हुन् । दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी रिजालले सेवाग्राहीहरुसँग धम्क्याएर पैसा असुलेका थिए । २० माघ २०७६ मा अख्तियारले रिजालमाथि भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

न्यायाधीशहरु यमुना भट्टराई, शालिग्राम कोइराला र खुसीप्रसाद थारुको इजलासले सबै आरोपमा रिजाललाई दोषी ठहर गरेको हो । उनलाई एक वर्ष कैद, ४ लाख रुपैयाँ विगो र त्यति नै जरिवाना हुने आदेश भएको छ । अख्तियारले रिजालमाथि घुस लिएर भ्रष्टाचार गरेको आरोपमा चारवटा मुद्दा लगाएको थियो ।

अनि नक्कली बील बनाई रकम दुरुपयोग गरेको आरोपमा पाँचौं मुद्दा दायर भएको थियो । यी सबै मुद्दा एकै दिन दायर भएका थिए । महिला सम्बन्धी मुद्दा लगाइदिन्छु भनी धम्क्याएर प्रमुख जिल्ला अधिकारी रिजालले सेवाग्राहीबाट घुस लिएको अख्तियारको आरोप थियो । चारमध्ये पहिलोमा ३५ हजार, दोस्रोमा ९० हजार विगो माग दाबी थियो । डेढ लाख मागेर ५० हजार रुपैयाँ घुस लिएको आरोपमा तेस्रो मुद्दा दायर भएको थियो ।

चौथो मुद्दामा चार लाख विगो माग दाबी छ । चार लाखमध्ये माछापुछ्रे बैंकमा नै राखेको २ लाख जफत गर्न र बाँकी २ लाख असुल्न पनि अख्तियारले माग गरेको थियो ।

दोलखाको प्रमुख जिल्ला अधिकारी हुँदा रिजालले कार्यालयमा बसेर फिल्डमा खटिएको भनी भत्ता लिएका थिए । उनले लिएको ७७ हजार ६०० रुपैयाँ भत्ता पनि भ्रष्टाचारमार्फत् आर्जन भएको अख्तियारको दाबी थियो । कार्यालयमा बसेर विभिन्न निर्णय गरेकै दिन उनले अनुगमन खटिएको भनी भ्रमणभत्ता बुझेका थिए ।