• मंसिर १४ २०८१, शुक्रबार

पहिले १ क्वीन्टल भनिएको सुन आज जोख्दा ६१ किलो मात्रै

श्रावण २९ २०८०, सोमबार

काठमाडौँ । चिनियाँ तस्करले हङकङबाट भित्र्याएको ब्रेक सुबाट बरामद गरिएको सुनको परिमाण ६० केजी ७७९ ग्राम रहेको पाइएको छ । बरामद ब्रेक सुभित्रको सुन निकाल्दा सुनको परिमाण ६० केजी ७७९ ग्राम रहेको पाइएको नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले जनाएको छ ।

सोमबार राष्ट्र बैंकको टक्सार विभागले ब्रेक सुको सुन जोखेको थियो । सुनको परिमाणको औपचारिक विवरण भने सार्वजनिक गरिएको छैन । हङकङबाट गत असार २९ गते ल्याएर अन्तर्राष्ट्रिय विमानस्थल भन्सारसमेत पार गरिसकेको तस्करीको सुन सिनामंगल सडकबाट राजस्व अनुसन्धान विभाग र सशस्त्र प्रहरीको टोलीले बरामद गरेको थियो ।

१ सय ६० वटा ब्रेक सु बरामद भएकोमा त्यसभित्र लुकाइएको सुनको परिमाण भने करिब ६१ केजी रहेको पाइएको छ । सुरुमा २ जनालाई सुनसहित पक्राउ गरेकोमा त्यसपछि भन्सारका अधिकृतसहित ३ कर्मचारी‚ ३ विदेशी नागरिक र ४ जना भन्सार एजेन्टसहित १८ जनालाई पक्राउ गरिएको थियो ।

त्यसमध्ये १७ जना हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको हिरासतमा छन् भने एक जनालाई हाजिरी जमानतमा रिहा गरिएको छ । यही प्रकरणमा पक्राउ परेका २ चिनियाँ र भारतीय राहदानी बाहक अर्का एक जनालाई पक्राउ गरिए पनि हाजिरी जमानतमा छाडिएको थियो ।